सुरू भयो तिहार
काठमाडौँ। उज्यालोको पर्व यमपञ्चक अर्थात् तिहार आज (कार्तिक कृष्ण त्रयोदशी) बाट विधिवत् आरम्भ भएको छ। तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ।
आज (पहिलो दिन): धनतेरस र यमदीपदान- आज दिउँसो १ः२३ बजेपछि त्रयोदशी तिथि सुरु भएकाले आजै (पहिलो दिन) धनतेरस (धनत्रयोदशी) पर्व मनाइँदैछ।
यमदीपदान पनि आजैबाट सुरु हुन्छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ। यमदीपदान परिवारको सदस्य सङ्ख्याका आधारमा दक्षिण फर्काएर गरिन्छ।
यस वर्ष तिथिको घटबढका कारण केही पर्वहरूको समय फरक परेको छ:
कार्तिक २ गते आइतबार काग तिहार, नरक स्नान, र धनवन्तरी जयन्ती
कार्तिक ३ गते सोमबार कुकुर तिहार र लक्ष्मी पूजा (एकै दिन)
कार्तिक ५ गते बुधबार गाई/गोरु पूजा, गोवर्द्धन पूजा, म्हः पूजा र नेपाल संवत् ११४५ आरम्भ
कार्तिक ६ गते बिहीबार भाइटीका
मुख्य दिनहरूको समय:
लक्ष्मी पूजा (कार्तिक ३ गते सोमबार):
बिहान अरुणोदयकालमा नरक स्नान गरी कुकुर तिहार मनाइनेछ।
दिउँसो २ः५२ बजेपछि औँसी तिथि लाग्ने भएकाले बेलुकी रातमा शास्त्रीय विधिअनुसार लक्ष्मी पूजा गरिनेछ।
भाइटीका (कार्तिक ६ गते बिहीबार):
भाइटीकाको शुभ साइत बिहान ११:३९ बजे रहेको छ।
भाइटीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्केर बस्नुपर्ने र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्ने शास्त्रीय मान्यता छ। सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् हुनेछ।
