नेपालले जित्यो छनोट उपाधि
काठमाडौं। नेपालले अपराजित प्रदर्शन गर्दै आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ। शुक्रबार सम्पन्न अन्तिम तथा निर्णायक खेलमा सामोआलाई १२४ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल समूह चरणदेखि सुपर सिक्सका सम्पूर्ण खेल जितेर च्याम्पियन बन्न सफल भएको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रनको विशाल योगफल खडा गर्यो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ६९ रन र दीपेन्द्रसिंह ऐरीले ५३ रनको अर्धशतकीय योगदान दिए। यस्तै, लोकेश बमले ११ बलमा ३९ रनको आक्रामक पारी खेलेर इनिङ्सको उत्कृष्ट अन्त्य गरे।
जवाफमा, २१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सक्यो। सामोआका लागि सिन सोलियाले सर्वाधिक ४० रन बनाए। नेपालको बलिङतर्फ ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले १(१ विकेट हात पारे।
यो जितसँगै नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसीको कुनै पनि प्रतियोगितामा उपाधि जितेको छ। यसअघि नेपालले सन् २०१४ मा आईसीसी डिभिजन चारको उपाधि जितेको थियो।
यस छनोट प्रतियोगिताबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी(२० विश्वकपका लागि आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। नेपालले छनोटभर कुवेत, जापान, यूएई, कतार र ओमानजस्ता टोलीहरूलाई पराजित गरेको थियो।
