आज ओमानलाई जिते नेपाल विश्वकपमा
काठमाडौं। आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स अन्तर्गत नेपालले आज बुधबार ओमानसँग महत्त्वपूर्ण खेल खेल्दैछ।
यो खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा नेपाली समयअनुसार बेलुका ८ः४५ बजेदेखि सुरु हुनेछ।
छनोट प्रतियोगितामा हालसम्म अपराजित रहेका नेपाल र ओमान दुवै टोली विश्वकपको नजिक पुगिसकेका छन्। सुपर सिक्समा एक–एक जित निकालेका यी दुई टोलीबीचको आजको खेललाई विश्वकप छनोटको निर्णायक भिडन्तका रूपमा हेरिएको छ।
आजको खेलको विजेता सिधै टी–२० विश्वकपका लागि छनोट हुनेछ।
नेपालले यसअघि आइतबार यूएईलाई र सोमबार कतारलाई पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ। यता ओमानले पनि आइतबार कतारलाई र सोमबार यूएईलाई हराएर समान प्रदर्शन गरेको छ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमान हालसम्म ८ पटक आमनेसामने भएका छन्। जसमा नेपाल ५ खेलमा विजयी भएको छ भने ओमानले एक सुपर ओभरसहित ३ खेल जितेको छ।
छनोट सुरु हुनुअघिको वार्म अप खेलमा पनि नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो, जसले नेपाली टोलीको मनोबल उच्च बनाएको छ।
नेपालले ओमानसँगको खेलपछि शुक्रबार सामोआसँग खेल्ने कार्यक्रम रहेको छ।
