सुन तस्करी प्रकरणः पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता
फाइल तस्बिर
काठमाडौं। सुन तस्करी प्रकरणको अनुसन्धानपछि पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको छ।
जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्लेका अनुसार महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजायको माग दाबी गरिएको छ। महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार पक्राउ गरेको थियो।
महरामाथि विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको सुनलाई विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ।
महराविरुद्धको थुनछेक बहस मंगलबारदेखि सुरु हुनेछ। बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने वा थुनामा राख्ने भन्ने आदेश दिनेछ।
२०७९ पुस १० गतृे फ्लाई दुबईको विमानबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङ ले ल्याएका दुईवटा शंकास्पद सुटकेसबाट सुरु भएको थियो। जाँच गर्दा भेप भेटिएपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो।
हानसोङले पासपोर्ट फिर्ता लिएर तत्कालै काठमाडौं छाडे पनि भेप लामो समयसम्म भन्सारमै थन्किएको थियो। भेपमा तस्करीको सुन भएको सूचना पाएपछि विमानस्थलका कर्मचारीले सुटुक्क साटेको र पछि भेप साटिएको आशंकामा २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई अनुसन्धान गर्न पत्राचार गरेको थियो।
