गुटबन्दी र खुट्टा तानातान नगर्न जेनजीलाई मन्त्री पुनको सुझाव

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जेनजी (नयाँ पुस्ताका युवा) लाई राष्ट्रिय हितका लागि गुटबन्दी र खुट्टा तानातान नगर्न विशेष सुझाव दिएका छन्। सामाजिक सञ्जालमार्फत पुनले देशको विकास र सार्वभौम सत्ताको रक्षाका निम्ति गुटबन्दीको इतिहास नदोहोर्याउन आग्रह गर्दै छ बुँदामा आफ्ना सुझावहरू राखेका हुन्।

उनले भनेका छन्, “मेरो जेनजी सहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरूलाई अनुरोध छ। गुटबन्दी र खुट्टा तानातान गर्‍यो भने कसलाई फाइदा हुने रहेछ भन्ने कुरा इतिहासको पानाबाट पनि सिकौं।”

मन्त्री पुनले इतिहासको उदाहरण दिँदै गुटबन्दी र खुट्टा तानातानले नेपाली जनताले १०४ वर्ष लामो निरङ्कुश राणातन्त्र, राजतन्त्रको समयमा पनि गुटबन्दी र २०१७ देखि २०४६ सालसम्म बहुदलहरूको गुटबन्दी भोग्नुपरेको स्मरण गराएका छन्। त्यस्तै, २०४६ सालदेखि २०८२ सालसम्म पनि राजनीतिक पार्टीहरूबीच चरम आन्तरिक गुटबन्दी र खुट्टा तानातानले देशले दु:ख पाएको उनको भनाइ छ। उनले इतिहासको पानाबाट पाठ सिकेर अगाडि बढ्न आग्रह गर्दै जेनजीलाई विशेष अनुरोध गरेका छन्।

“यो माथिको इतिहास हेरेर जेनजीहरूले पाठ सिक्न अनुरोध छ। तपाईंहरू भनेको एउटा निश्चित उमेरको युवाहरूको समूह हो। मातृभूमिको अस्तित्वको लागि म विनम्र अनुरोध गर्दछु की नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहोऱ्याउनुहोस्।” मन्त्री पुनले भनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *