खुल्यो बीपी राजमार्ग
फाइल तस्बिर
काठमाडौँ। गत साताको बाढीले क्षतिग्रस्त बीपी राजमार्ग आज शनिबार बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले युद्धस्तरमा काम गर्दै १९ स्थानमा अस्थायी डाइभर्सन बनाएर राजमार्गमा यातायात सुचारु गरेको हो।
मङ्गलबारदेखि सुरु गरिएको डाइभर्सन निर्माण कार्यलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको निर्देशनपछि शुक्रबार रातभर समेत जारी राखिएको थियो। शुक्रबार साँझ नै काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्म ‘ट्रयाक’ खोली परीक्षण गरिएपछि आज बिहानैदेखि सम्पूर्ण सवारी साधनका लागि राजमार्ग खोलिएको हो।
डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले राजमार्गको काभ्रे खण्डमा १६ र सिन्धुली खण्डमा ३ स्थान गरी कूल १९ स्थानमा खोला फर्काएर डाइभर्सन निर्माण गरिएको जानकारी दिए। बाढीले रोशी खोलाको क्षेत्रमा मात्र करिब चार किलोमिटर सडक कटान गरेको थियो।
पूर्वी नेपाल जोड्ने छोटो मार्गको रूपमा रहेको यो राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएसँगै दैनिक हजारौँ सवारीसाधनलाई सहज भएको छ। कार्यालयले क्षतिग्रस्त राजमार्गको स्थायी निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाइरहेको छ।
