जापानलाई हराउँदै नेपाल समूह विजेता
काठमाडौँ। नेपालले जापानलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिताको समूह ‘बी’ को विजेता बनेर सुपर सिक्समा प्रवेश गरेको छ।
नेपालले १ सय ३२ रनको लक्ष्य १८ ओभरमै ५ विकेट गुमाएर पुरा गर्यो। यसअघि नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो। जापानले कुवेतलाई पराजित गरेपछि नेपाल र जापान दुवै दोस्रो चरणमा पुगेका थिए। समूह विजेता बनेको कारण नेपालले सुपर सिक्समा २ अतिरिक्त अङ्क प्राप्त गर्नेछ।
नेपाली ब्याटिङ चम्कियो
जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुआत दिलाए। आसिफ शेखले आक्रामक ब्याटिङ गर्दै २१ बलमा १ चौका र ४ छक्कासहित ३८ रन बनाए भने भुर्तेलले २१ रन जोडे।
त्यसपछि कप्तान रोहित पौडेल १८ रनमा आउट भए पनि गुलशन झा र दीपेन्द्रसिंह ऐरी को जोडीले जित सुनिश्चित गर्यो। गुलशन झाले २० बलमा १ चौका र २ छक्कासहित २८ रन तथा दीपेन्द्रसिंह ऐरीले १४ बलमा १ चौकासहित १४ रन बनाई अविजित रहे। जापानका शोमा स्लेटरले २ विकेट लिए।
सुपर सिक्सको यात्रा
समूह विजेता बनेको नेपालले सुपर सिक्समा आइतबार समूह ‘ए’ को विजेता र सोमबार कतारसँग खेल्नेछ। त्यसपछि समूह ‘सी’ को विजेता र उपविजेतासँग थप दुई खेल खेल्नेछ। सुपर सिक्समा शीर्ष तीन स्थानमा रहने टोलीहरू फेब्रुअरी–मार्चमा भारतमा हुने टी–२० विश्वकप मा प्रवेश गर्नेछन्।
