बीपी राजमार्ग आजदेखि सञ्चालनमा आउने सम्भावना

काठमाडौं । अविरल वर्षा र बाढीपहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग आज शुक्रबारदेखि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ। काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने यो छोटो तथा महत्वपूर्ण मार्ग असोज १७ र १८ गते आएको बाढीपहिरोले क्षतिग्रस्त बनेको थियो।

सडक डिभिजन भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशका अनुसार विभिन्न स्थानमा डाइभर्सन बनाएर सडक सञ्चालनको तयारी गरिएको हो। डाइभर्सन निर्माण र सडक मर्मत गर्ने काम अहिले अन्तिम चरणमा पुगेको छ। काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि नेपालथोकसम्म डाइभर्सन निर्माण कार्य सम्पन्न भइसकेको छ।

भौतिक पूर्वाधार, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले बिहीबार डाइभर्सन निर्माण कार्यको अवलोकन गर्दै शुक्रबार साँझसम्ममा यातायात सञ्चालनको वातावरण बनाउन निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि निर्माण व्यवसायीहरूले गएराति अबेरसम्म पनि काम गरिरहेका थिए।

सडक विभागका अनुसार हालैको बाढीले राजमार्गका १६ स्थानका झन्डै ३.५ किलोमिटर डाइभर्सन बगाएको थियो। यसबाहेक, गत वर्षको बाढीमा क्षतिग्रस्त भएपछि निर्माण गरिएको ५.३ किलोमिटर डाइभर्सन पनि पूर्ण रूपमा नष्ट भएको थियो। विसं २०७२ मा निर्माण सम्पन्न भएको बीपी राजमार्ग जापान सरकारको २६ अर्ब जापानी येन र नेपाल सरकारको १.१ अर्बको संयुक्त लागतमा तयार पारिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *