सुरु भयो दशैँ, आज घटस्थापना
ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा श्रद्धालु।
काठमाडौँ। नेपालीहरूको महान् पर्व बडादशैं आजबाट सुरु भएको छ। यो पर्व आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ मनाइन्छ।
आज दशैंको पहिलो दिन, अर्थात् घटस्थापना हो। यस अवसरमा घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेशको स्थापना गरी घटस्थापना गरिँदैछ। गाईको गोबरले लिपेर शुद्ध पारिएको पूजा कोठा वा दशैं घरमा पवित्र नदी वा चोखो ठाउँको माटोमा जौ छरेर जमरा राखिएको छ।
जौको अंकुरलाई दुर्गा देवीको प्रिय वस्तु मानिने भएकाले यो देवीलाई चढाएर विजया दशमीको दिन समृद्धिको प्रतीकका रूपमा टीकासँगै लगाइन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतमका अनुसार, जमरामा जौबाहेक अरू अन्न रोप्नु शास्त्रीय विधि होइन।
घटस्थापनादेखि विजया दशमीसम्मको नौ दिनको अवधिलाई नवरात्र भनिन्छ। यी नौ दिनमा दुर्गा देवीका नौ वटा फरक-फरक स्वरूपहरूको पूजा गरिन्छ।
पहिलो दिन: शैलपुत्री | दोस्रो दिन: ब्रहृमचारिणी
तेस्रो दिन: चन्द्रघण्टा | चौथो दिन: कुष्माण्डा
पाँचौँ दिन: स्कन्दमाता | छैठौँ दिन: कात्यायनी
सातौँ दिन: कालरात्री | आठौँ दिन: महागौरी
नवौँ दिन: सिद्धिदात्री
दशैंको सातौँ दिन फूलपाती भित्र्याउने चलन छ। त्यस्तै, महाअष्टमी र महानवमीका दिन बलि पूजा गरिन्छ। नवरात्रभर देशभरका विभिन्न शक्तिपीठहरू नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, पाथीभरा, आदिमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ। दशैंलाई असत्यमाथि सत्यको र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ। यस वर्षको दशैंको टीका असोज १६ गते परेको छ।
