श्रीमतीको हत्या गरी भान्सामा गाड्ने पक्राउ

काठमाडौँ। अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४, पातलेपोखरामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरी शव घरको भान्साकोठामा खाडल खनेर गाडेको अवस्थामा प्रहरीले फेला पारेको छ। प्रहरीले हत्यामा संलग्न ३६ वर्षीय किरण गुरुङलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

स्थायी घर प्युठानको नौबहिनी गाउँपालिका–१, स्याउलीबाङ भएका गुरुङ ८ वर्षदेखि श्रीमती सुमित्रा कुमाल गुरुङ (३४ वर्षीया) र ९ वर्षकी छोरी सरुसँग छत्रदेवमा बस्दै आएका थिए। करिब चार–पाँच दिनदेखि सुमित्रालाई नदेखेपछि छरछिमेक र माइती पक्षले खोजतलासका लागि प्रहरी चौकी बल्कोटमा मौखिक जानकारी गराएका थिए।

सोही जानकारीको आधारमा प्रहरीले अनुसन्धान थालेपछि घटनाको रहस्य खुलेको हो। अनुसन्धानका क्रममा भदौ १२ गते बिहान करिब १२ बजे श्रीमान् श्रीमतीबीच सामान्य विवाद भएको र सोही विवादले उग्र रूप लिएको पाइएको छ। त्यसपछि किरणले बाँसको लाठी र हँसियाको पछाडिको भागले श्रीमतीको शरीरका विभिन्न भागमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

हत्यापछि किरणले शवलाई कम्बलमा पोको पारी भान्साकोठामा खाडल खनेर गाडेका थिए। शव सडेर गन्ध आउन थालेपछि छिमेकीले शंका गरेका थिए। भदौ १६ गते राति ८ः३० बजे प्रहरी टोलीले घरमा पुगेर शव उत्खनन गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाएको छ।

घटना भएको समयमा किरणले मादक पदार्थ सेवन गरेको पनि अनुसन्धानबाट खुलेको छ। हत्यामा प्रयोग भएका बाँसको लाठी, हँसिया, गैँची, बेल्चा र कोदालो बरामद गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी इन्स्पेक्टर झलकप्रसाद शर्माले जानकारी दिए।

प्रहरीका अनुसार किरण र सुमित्राले करिब १० वर्षअघि प्रेमविवाह गरेका थिए। दुवैको यो दोस्रो विवाह थियो। किरणको अघिल्लो श्रीमतीबाट दुई छोरी र सुमित्राको अघिल्लो श्रीमानबाट तीन छोरा रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *