कस्तो रहला दसैँमा बीपी राजमार्गको यात्रा ?

काभ्रेपलाञ्चोक । आगामी चाडबाडमा सडक अवरुद्ध हुन नदिन बीपी राजमार्गको मर्मतसम्भार सुरु भएको छ । मनसुनमा समेत अवरुद्ध हुन नदिएको यो राजमार्गको क्षतिग्रस्त सडक दुई हप्ताभित्रै मर्मत गरिसक्ने भक्तपुर डिभिजन सडक कार्यालयले जनाएको छ ।

डिभिजन सडक कार्यालयका प्रमुख, सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार एक वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त बनाएपछि सडक अस्थायी रूपमा मर्मत गरी यातायात सञ्चालनमा ल्याइएको थियो । बाढीले क्षति पुर्‍याउन सक्ने काभ्रेपलाञ्चोकको चौकीडाँडा, कटुञ्जेबेँसी, मङ्गलटार र माम्तीमा ग्याबियन जालीको पर्खाल लगाइएको थियो । सडक अवरुद्ध भएमा तत्काल हटाउन ठूला ढुङ्गा (बोल्डर) पनि तयारी अवस्थामा राखिएको थियो ।

कार्यालयले वर्षायाममा सडक अवरुद्ध भए तत्काल हटाउनका लागि ठेक्का लागेको सडकखण्डमा निर्माण व्यवसायीका १५-१५ वटा उपकरणसहित डिभिजनका डोजर, टिपर, लोडरजस्ता सातवटा उपकरण तयारी अवस्थामा राखिएको योगेशले जानकारी दिए ।

२०८० असोजको बाढीपहिरोले क्षतिग्रस्त बनाएको बीपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकलाई चार खण्डमा पुनर्निर्माण गर्न प्रक्रिया अघि बढाइएको छ । बाढीले करिब आठ किलोमिटर सडक बगाएको थियो । क्षतिग्रस्त राजमार्गको पुनर्निर्माण काभ्रेपलाञ्चोकमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *