दसैँका लागि भदौ २९ देखि ‘सुकिला नोट’ साट्न पाइने
काठमाडौं। यसपालिको दसैँमा सर्वसाधारणले नयाँ नोटको सट्टामा चलनचल्तीमा रहेका तर सफा नोट मात्र साट्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै यो वर्ष नयाँ नोट उपलब्ध नगराउने जानकारी दिएको हो।
केन्द्रीय बैंकले भदौ १९ देखि असोज १० गतेसम्म नोट सटहीको सुविधा उपलब्ध गराउनेछ। यो सुविधा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग, र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट लिन सकिनेछ।
इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सर्वसाधारणले सुकिला नोट साट्न पाउने व्यवस्था मिलाइएको बैंकले जनाएको छ। विगतमा प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट साट्न पाइने व्यवस्था थियो। यस वर्ष पनि सोहीअनुसार सुकिला नोट उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार विगतमा दसैँमा वितरण गरिएका नयाँ नोटहरू छोटो समयमै झुत्रो हुने र ढुकुटीमा लामो समय थन्किँदा नोटको आयु घट्ने समस्या देखिएको थियो।
यसले नोटको छपाइ, ढुवानी र व्यवस्थापनमा लाग्ने खर्च बढेको थियो। यही समस्यालाई सम्बोधन गर्न यो निर्णय लिइएको राष्ट्र बैंकले बताएको छ। यसले नोटको आयु बढाउनुका साथै व्यवस्थापकीय खर्च पनि घटाउने अपेक्षा गरिएको छ।
राष्ट्र बैंकले नोट राष्ट्रको सम्पत्ति भएकाले यसको जतन गर्न सबैलाई अनुरोध गरेको छ। बैंकले नोटमा केरमेट नगर्न र दुरुपयोग नगर्न आग्रह गरेको छ। यस्तो गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी पनि राष्ट्र बैंकले दिएको छ।
