कन्यामार्ग टोल विकास संस्थाद्वारा ज्येष्ठ नागरिकको सम्मान

विराटनगर। विराटनगर महानगरपालिका–३ मा रहेको कन्यामार्ग टोल विकास संस्थाले आफ्नो दोस्रो साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। आज शनिबार सम्पन्न साधारणसभाले टोलको विकास र सामाजिक गतिविधिलाई थप गति दिने विश्वास गरिएको छ।

संस्थाकी अध्यक्ष निर्मला नेपालको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर महानगरपालिका–३ का अध्यक्ष बासुबहादुर बस्नेत प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

साधारणसभामा उपस्थित विभिन्न वक्ताहरूले टोलको निरन्तर विकास, सामाजिक सद्भाव र आपसी सहयोगको महत्वबारे आफ्ना धारणाहरू व्यक्त गरेका थिए।

साधारणसभाको विशेष अवसरमा टोलका ज्येष्ठ नागरिकहरू नवराज घिमिरे र पदमकुमारी दाहाललाई सम्मान गरिएको थियो। टोलको विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो।

कुल ७४ घरधुरीलाई समेटेर गठन भएको यस संस्थाले टोलको भौतिक पूर्वाधारको विकासका साथै सामाजिक एकतालाई मजबुत बनाउन विभिन्न रचनात्मक गतिविधिहरू गर्दै आइरहेको छ।

संस्थाले भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने र टोललाई थप सुन्दर र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *