फेसबुकमा स्टाटस लेख्दा शिक्षकको सरूवा !

सुनसरी। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेको भन्दै बराहक्षेत्र नगरपालिका-८ स्थित कोशी माध्यमिक विद्यालयका शिक्षक बालकृष्ण बोहोराको सरूवा गरिएको छ। नगरपालिकाले उनलाई अन्यत्र सरुवा गरेपछि आलोचना भएको छ।

शिक्षक बोहोराले गत शुक्रबार ‘दुई-तीनवटी श्रीमती भएका मेयर र वडाध्यक्षहरूले कार्यक्रममा पालैपालो श्रीमतीलाई प्रथम महिला भन्दै सम्बोधन गरेको’ भनेर फेसबुकमा स्टाटस लेखेका थिए।

त्यही कारण उनलाई आइतबार विद्यालयमा हाजिर हुन दिइएन। बोहोरालाई बराहक्षेत्र-१ स्थित सूर्यकुण्ड माध्यमिक विद्यालयमा काज सरुवा गरिएको जानकारी दिइएको थियो। नगर प्रमुख रमेश कार्कीले इलाका प्रहरी कार्यालयमा बोलाएर आफूलाई दुर्व्यवहार गरेको शिक्षक बोहोराको भनाइ छ

शिक्षक बोहोराले आफूलाई कुनै जानकारी वा स्पष्टीकरण नसोधी एक्कासि सरुवा गरिएकोमा असन्तुष्टि जनाएका छन्। यसबाट आफ्नो सूचनाको हक र पेशागत हक कुण्ठित भएको उनको भनाई छ।

यसैबीच शिक्षक बोहोरालाई सरूवा गरिएको विषयमा विद्यार्थी र अभिभावकले विरोध जनाएका छन्। उनीहरूले बराहक्षेत्र नगरपालिकाको गेटअगाडि नाराबाजी गर्दै बोहोरालाई तत्काल पुरानै विद्यालयमा फर्काउन माग गरेका थिए।

बराहक्षेत्रका नगर प्रमुख कार्कीले भने पारिवारिक विषयमा प्रवेश गरेर स्टाटस लेखेकाले शिक्षकलाई सरुवा गर्नुपरेको बताएका छन्। यस विषयमा नेपाल शिक्षक महासंघ र नेपाल राष्ट्रिय शिक्षक संगठनले विज्ञप्ति जारी गर्दै शिक्षक बोहोरालाई सोही विद्यालयमा हाजिर गराउने वातावरण मिलाउन माग गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *