विपिन जोशीको रिहाइ र गाजामा नरसंहार रोक्न माग
फाइल तस्बिर
काठमाडौँ। नौ जना नागरिक अगुवाहरूले गाजामा इजरायलले गरिरहेको सैनिक कारबाहीलाई ‘नरसंहार’ को संज्ञा दिँदै तत्काल रोक्न माग गरेका छन्। सोमबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले इजरायललाई आक्रमण रोक्न र हमासको कब्जामा रहेका नेपाली युवक विपिन जोशीलगायत निर्दोष नागरिकलाई अविलम्ब रिहा गर्न पनि आग्रह गरेका छन्।
वक्तव्यमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमन्त्री डा. भेषबहादुर थापा, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्वसरकारी अधिकारी विद्याधर मल्लीक, प्राध्यापक कृष्ण खनाल, डा. अर्जुन कार्की, प्राध्यापक विपिन अधिकारी, डा. रीता थापा र केदारभक्त माथेमाले हस्ताक्षर गरेका छन्।
नागरिक अगुवाहरूले गाजामा भइरहेको मानवीय सङ्कटप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायलले सुरु गरेको सैनिक कारबाहीमा अहिलेसम्म ७०,००० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको उनीहरूको भनाइ छ। तीमध्ये ८० प्रतिशत सर्वसाधारण नागरिक छन् र मारिनेहरूमा ६० प्रतिशत महिला, बालबालिका र ज्येष्ठ नागरिक रहेको उल्लेख छ।
नागरिक अगुवाहरूले इजरायलको यस कार्यलाई ‘२१ औं शताब्दीको मध्ययुगीन बर्बरता’ को संज्ञा दिएका छन्। ‘इजरायली सरकारले मानिसको आधारभूत अधिकारको उल्लङ्घन गरेर जुन जघन्य अपराध गरिरहेको छ, हामी त्यसको घोर भर्त्सना गर्दछौं,’ वक्तव्यमा भनिएको छ।
वक्तव्यमार्फत उनीहरूले भोकले तड्पिएका बालबालिका, महिला र वृद्धहरूलाई जीवन रक्षाका लागि राहत सामग्रीहरूलाई गाजा क्षेत्रमा जान दिन इजरायल सरकारसँग जोडदार माग गरेका छन्।
उनीहरूले गाजामा उत्पन्न भोकमरी र कुपोषणको डरलाग्दो अवस्थाका लागि राहत सामग्री बोकेका सवारीसाधन रोक्ने इजरायलको नीति जिम्मेवार रहेको ठहर गरेका छन्। संयुक्त राष्ट्रसंघले पनि गाजालाई अनिकालग्रस्त क्षेत्र घोषणा गरेको तथ्यलाई उनीहरूले स्मरण गराएका छन्।
थप समाचारः
विपिनकी आमाले इजरायली राष्ट्रपतिलाई भनिन्, ‘छोराको रिहाइका लागि पहल होस्’
