पाकिस्तानसँग १ रनले नेपाल पराजित
-क्यान
काठमाडौं। अस्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलाको आज शुक्रबारको खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित भएको छ।
पाकिस्तान शाहीन्सले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४३ रनमात्र बनाउन सक्यो।
नेपालका कप्तान रोहित पौडेलले ५२, दीपेन्द्रसिंह ऐरीले ४१ रन बनाए। पाकिस्तान शाहीन्सका मोहम्मद वसिम र फैसल अकरमले २–२ विकेट लिए।
डार्विनमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान शाहीन्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनायो। पाकिस्तान शाहीन्सका इरफान खानले नटआउट ४२ रन बनाए। नेपालका सोमपाल कामीले ३, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २र२ तथा कुशल भुर्तेलले १ विकेट लिए।
यो सँगै नेपालले टप इन्ड टी–२० शृङ्खलामा ४ खेलमा हार र २ खेलमा जीत निकालेको छ। शृङ्खलामा शुरूका लगातार ३ खेलमा हारेको नेपालले चौथो र पाँचौं खेल जितेको थियो।
नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो। यस्तै नेपालले चौथो खेलमा होबर्ट हरिकेन्स र पाँचौं खेलमा मेलबर्न रेनेगेड्सलाई हराएको थियो।
अब नेपालले अस्ट्रेलियामै अभ्यास खेल पनि खेल्नेछ। आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० शृङ्खला र अभ्यास खेल खेल्न लागेको हो।
