असमयमै अस्ताए युवा समाजसेवी पुष्प, गाउँ शोकमग्न
विराटनगर। सामाजिक क्रियाकलापमा सक्रिय रहने गरेका सुनसरीको बर्जु गाउँपालिका–६ का २८ वर्षीय पुष्पकुमार चौधरी (थारू) को निधनले उनको गाउँ शोकमग्न बनेको छ।
विराटनगरको दुधफारम चोकमा बुधबार राति करिब साढे ८ बजे भएको दुर्घटनामा उनले ज्यान गुमाएका थिए। बिहीबार उनको दाहसंस्कार गरिएको छ।
प्रहरीले विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको मिनी ट्रक (प्रदेश १–०२–००१ क ५१८९) रोकेर जाँच गर्ने क्रममा सोही दिशातर्फ आइरहेको मोटरसाइकल (प्रदेश १–०२–००४६ प ६४०१) ट्रकको पछाडि ठोक्किएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले ट्रक चालक ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई नियन्त्रणमा लिएको छ।
यो घटनाले प्रहरीको गतिविधिप्रति प्रश्न उब्जाएको छ। समाजमा चिनिएका पुष्पलाई श्रद्धाञ्जली दिँदै धेरैले प्रहरीको लापर्बाही र बेवास्ताप्रति आलोचना र टिप्पणी गरिरहेका छन्।
घटनाको प्रत्यक्षदर्शी एक जनाले उल्लेख गरेको विवरणको आधारमा पनि प्रहरीको बेवास्ता प्रस्ट झल्कन्छ।

सरल पत्रिकासँग सम्पर्कमा आएका ती प्रत्यक्षदर्शीको भनाइ जस्ताको तस्तै–
‘मेरै अगाडि लड्नु भाको थियो। ट्राफिक चेकिङ हुँदा सब पुलिसहरूकै अगाडि भाको एक्सिडेन्ट। हस्पिटलकै अगाडि भाको। मैले बोकेर हस्पिटल लान खोज्दा पुलिसले नछुनुस् भन्नुभयो। त्यही पनि मैले दाइको फोनमा दाइको फिङ्गरप्रिन्ट लिएर मामुलाई कल गर्दिएँ। पछि त्यो फोन नि पुलिसले लानुभो। शेम अन नेपाल पुलिस। ढिला भइसक्या थियो। बल्ला तल्ला बोकेर लगिम, त्यो हस्पिटलमा सम्भव नभएन अनि नोबेल हस्पिटल लगुम् भनें। पुलिसहरुले वास्तै गरेनन्, अनि एम्बुलेन्स आउदा ओर्दा धेरै ढिला भइसक्या थ्यो। दाइको सास चलिराथ्यो। आफ्नै आँखा अगाडि भएर म त अहिलेसम्म शकमा छु। पुलिसले आफ्नो कारमा हालेर लग्या भए दाइ बाँच्नु हुन्थ्यो, स्योर। दुःख यति छ पुलिसले फोटो नखिचेर बोकेर आफ्नै भ्यानमा हालेर लगेको भए आज यति सानै उमेरमा यो दाइ जानु हुन्न थियो। पोल्छ एक दिन त्यो पुलिसहरुलाई।’

यसैगरी, अन्य कतिपय शुभेच्छुक र आफन्तले मात्र होइन उनलाई प्रत्यक्ष चिनेका वा नचिनेकाले पनि घटनामा प्रहरीको लापर्बाही भन्दै आलोचना गरिरहेका छन्। ठाउँ–कुठाउँ अव्यवस्थित र अपर्झट रूपमा गर्ने ‘चेकिङ’ का कारण दुर्घटना बढिरहेको उनीहरूको भनाइ छ।
यसैबीच, शुभेच्छुकहरूले पुष्पप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सक्रिय युवा समाजसेवीको निधनले दुःखी तुल्याएको उल्लेख गरेका छन्।
पूर्व शिक्षक एवं राजनीतिक कार्यकता निरा भगतले लेखेकी छन्, ‘अलबिदा पुष्प भाइ, अपत्यारिलो अत्यन्त दुःखद खबर, थारू समुदायको उदयमान युवा, सामाजिक अभियन्ता सुनसरी निवासी पुष्प थारूको दुर्घटनामा परी निधन भएको हुँदा अत्यन्त मर्माहित बनाएको छ। तपाईंप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’
यसैगरी दुहबी नगरपालिकाका मेयर वेद गच्छदारले पनि उनको निधनप्रति दुःख व्यक्त गरेका छन्।
उनले लेखेका छन्, ‘सुनसरीको बर्जु गाउँपालिका निवासी, थारू कला केन्द्रका सचिव, नेपाल तरुण दलका सल्लाहकार, सामाजिक व्यक्तित्व, अत्यन्तै मिलनसार युवा भाइ पुष्पकुमार चौधरी (पुष्पे थारू) को सडक दुर्घटनामा परी स्वर्गारोहण भएको खबरले अत्यन्तै दुःखी एवं मर्माहित तुल्याएको छ। दिवङ्गत आत्माको चिर शान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी पशुपतिनाथसँग प्रार्थना सहित गहिरो समवेदना अर्पण गर्दछु।’

उनको अन्तिम संस्कारअघि श्रद्धाञ्जली अर्पण गरिएको छ। त्यस क्रममा कांग्रेस नेताहरूले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए। त्यस अवसरमा दुहबी नगर प्रमुख गच्छदारसहित उपमेयर मेनुका खतिवडा, नेताहरू रघुनन्दन चौधरी, कृष्ण संग्रौला, कांग्रेस र तरूण दलका नेता–कार्यकर्ताहरूको उपस्थिति थियो।
अन्तिम संस्कारमा गाउँले, शुभचिन्तक र आफन्तहरूको पनि उल्लेख्य उपस्थिति थियो।
-अन्तिम संस्कारका तस्बिरहरूः अर्जुन खड्का
