संसदमा सुहाङ : इलामको खानेपानी कार्यालय किन सारियो ?

इलाम। प्रतिनिधिसभा सांसद सुहाङ नेम्वाङले इलामको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय अन्य जिल्लामा सारिएकोमा चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यो निर्णयले जनताको सहज सेवा पाउने पहुँच मात्र नभई सम्पूर्ण सेवा प्रवाहलाई कमजोर बनाएको बताए।

इलाम क्षेत्र नम्बर २ का सांसद नेम्वाङका अनुसार, यो कार्यालयले इलाम, ताप्लेजुङ र पाँचथरका हजारौं नागरिकलाई सेवा दिँदै आएको थियो। उनले सेवालाई टाढा सार्नुको सट्टा जनतालाई अझ नजिकबाट सेवा दिनुपर्नेमा जोड दिए।

नेम्वाङले सम्बन्धित मन्त्रालय र सरकारसँग यथाशीघ्र उक्त कार्यालय इलाममै फर्काउन वा त्यसको विकल्पमा पूर्ण सेवायुक्त कार्यालय त्यहीँ स्थापना गर्न माग गरेका छन्। उनले भनेका छन्, ‘सेवा प्रवाहलाई प्रभावकारी बनाउनु सुशासनको पहिलो आधार हो।’

यसअघि इलाम १ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद महेश बस्नेतले पनि यसबारे प्रश्न उठाएका थिए। इलाममा सञ्चालित खानेपानी तथा ढल व्यवस्थापनका आयोजना अन्यत्र नलैजान उनले माग गरेका थिए।

कार्यालय सारिए इलाम, पाँचथर र ताप्लेजुङका सेवाग्राहीहरु मर्कामा पर्ने भन्दै सांसद बस्नेतले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए।

* * *

संसदमा बस्नेतको प्रश्नः इलामको खानेपानी आयोजना किन सार्ने ?

सांसद नेम्बाङद्वारा खानेपानी आयोजना इलाममै राख्न माग


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *