संसदमा बस्नेतको प्रश्नः इलामको खानेपानी आयोजना किन सार्ने ?

इलाम। संघीय संसदका सदस्य (प्रतिनिधि सभा, इलाम-१) महेश बस्नेतले इलाममा सञ्चालित खानेपानी तथा ढल व्यवस्थापनका आयोजना अन्यत्र नलैजान माग गरेका छन्।

प्रतिनिधिसभाको आज बुधबार जारी बैठकमा बोल्दै सांसद बस्नेतले यस्तो माग गरेका हुन्। उक्त आयोजना धनकुटास्थित कार्यालयमा मर्ज गर्ने सरकारले तयारी गरेको छ। यस्तो तयारी तत्काल रोकी इलाममै यथावत् राख्न उनले माग गरेका छन्।

कार्यालय सारिए इलाम, पाँचथर र ताप्लेजुङका सेवाग्राहीहरु मर्कामा पर्ने भन्दै सांसद बस्नेतले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए।

यसअघि मंगलबार इलाम–२ का सांसद सुहाङ नेम्वाङले पनि आयोजना कार्यालय सार्ने तयारीप्रति आपत्ति जनाएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौँलाई सम्बोधन गरी पठाइएको एक अनुरोध पत्रमा सांसद नेम्बाङले यस विषयमा आफ्नो धारणा स्पष्ट पारेका हुन्। पत्रमा उनले धनकुटामा कार्यालय मर्ज गरिए इलाम, पाँचथर र ताप्लेजुङ्गका सेवाग्राहीहरू प्रभावित हुने चिन्ता व्यक्त गरेका छन्।

नेम्बाङले हाल धनकुटामा रहेको कार्यालयमा मर्ज गरिएमा इलामका खानेपानी तथा ढल व्यवस्थापनका कार्यहरूमा आर्थिक अधिकारसहितको स्थायी आयोजनाको रूपमा यथावत् राख्नुपर्नेमा जोड दिएका छन्।

उनले इलाम मात्र नभई पाँचथर, ताप्लेजुङ्ग लगायतका छिमेकी जिल्लाका सेवाग्राहीहरूले पनि इलाममै सहज सेवा प्राप्त गरिरहेको अवस्थामा कार्यालय धनकुटा सार्दा उनीहरूलाई थप असुविधा हुने बताएका छन्।

सांसद नेम्बाङले विद्यमान व्यवस्थालाई नै आर्थिक अधिकारसहित यथावत् राखिदिन प्रधानमन्त्रीसमक्ष अनुरोध गरेका छन्। यस पत्रको बोधार्थ सभामुख, संघीय संसद, प्रतिनिधि सभा तथा खानेपानी मन्त्रालयलाई समेत दिइएको छ।

* * *

सांसद नेम्बाङद्वारा खानेपानी आयोजना इलाममै राख्न माग


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *