तयार भयो पुवाखोलामा बेलिब्रिज
इलाम। इलाम नगरपालिका ९ र ११ जोड्ने पुवा खोलामा निर्माण गरिएको बेलिब्रिज औपचारिक रूपमा सञ्चालनमा आएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार पुलको संयुक्त रूपमा उद्घाटन गरेसँगै औपचरिक सञ्चालनमा आएको हो।
भारतीय सरकारको सहयोगमा बनेको उक्त पुल सञ्चालनमा आएपछि ताप्लेजुङ, पाँचथर र इलामका बासिन्दालाई झापा आउजाउमा सहज हुने भएको छ। ४८.८ मिटर लम्बाइको पुल १ करोड ४८ लाख रुपैयाँ लागतमा सागर–शुभारम्भ–एरिसा जेभीले निर्माण गरेको हो।
इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जाने छोटो दूरीको सडकमा पर्ने पुवाखोलामा बेलिब्रिज बनाइएको हो। केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गतको जडान कार्य हालै सकिएको थियो।
उक्त स्थानमा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो। मध्य बर्खामा आवागमन ठप्पजस्तै हुने गरेको छ।
मेची राजमार्गको वैकल्पिक सडकको रुपमा लिइएको सो सडक इलामदेखि विर्तामोडसम्म ५० किलोमिटर दूरी पर्छ। इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ।
सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार पुल सञ्चालनमा आएसँगै पहाड र तराईबीचको दूरी घट्नुका साथै यातायात सहज भएको छ। स्थानीय कृषि उपज बजार पुर्याउन अझ सहजिलो भएको उनको भनाइ छ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले पुलले स्थानीय विकास र समृद्धिमा टेवा पुग्ने बताए। उद्घाटन कार्यक्रममा संघीय सांसद महेश बस्नेत, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा. विजयकुमार जैसीको उपस्थिति थियो।
यसैगरी, पुल महाशाखाका प्रमुख ललिजन खनाल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख बिनोदकुमार मौवार, इलाम नगरपालिकाका प्रमुख केदार थापा लगायत जनप्रतिनिधिहरूको उपस्थिति थियो।
* * *
