पुवाखोलामा जेठभित्र बेलिब्रिज जडान भइसक्ने
इलाम। इलाम सदरमुकामदेखि झापाको विर्तामोड जाने छोटो दूरीको सडकमा पर्ने पुवाखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ। केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा पुल निर्माण सकिन लागेको हो।
उक्त पुल इलाम नगरपालिका–९ गोलाखर्क र वडा ११ सोयाकको बीचमा पर्छ। सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेका अनुसार पुल जडानको काम अन्तिम चरणमा पुगेको छ। हालसम्म ७० प्रतिशत काम सकिएको उनले बताए।
संघीय सरकारको १ करोड ३५ लाख रुपैयाँको लागतमा बेलिब्रिज जडान भइरहेको हो । जेठ मसान्तसम्म जडान सक्ने गरी काम भइरहेको जनाइएको छ। बेलिब्रिज १६० फिट लम्बाइको हुनेछ।
उक्त स्थानमा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। मध्य बर्खामा आवागमन ठप्पजस्तै हुने गरेको छ। बेलिब्रिज जडानको काम सकिएपछि झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका केही क्षेत्रमा सहज र नियमित यातायात सञ्चालन हुने जनाइएको छ।
मेची राजमार्गको वैकल्पिक सडकको रुपमा लिइएको सो सडक इलामदेखि विर्तामोडसम्म ५० किलोमिटर दूरी पर्छ। इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ। सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार बाँकी १७ किलोमिटर खण्डमध्ये १४ किलोमिटर ठेक्का लागेर निर्माण भइरहेको छ।
