नेपालको पहिलो जित, होबार्ट हरिकेन्स पराजित

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले आफ्नो चौथो खेलमा होबार्ट हरिकेन्सलाई ६६ रनले हराउँदै पहिलो जित हासिल गरेको छ।

नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट हरिकेन्स १६.१ ओभरमा ११४ रनमा अलआउट भयो। नेपालको जितमा नन्दन यादवले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा १७ रन दिएर ५ विकेट लिए। यस्तै, कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल र सन्दीप लामिछानेले १-१ विकेट हात पारे।

होबार्टका लागि ब्राड होपले सर्वाधिक ३१ रन बनाए भने चार्ली वाकिमले २८ र जेन कर्टेनले २० रन बनाए।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३, आसिफ शेखले २९, र कुशल भुर्तेलले २७ रनको योगदान दिए। लोकेश बमले ११ बलमा २५ रन बनाएर अविजित रहे। नेपालले अतिरिक्त ३२ रन पनि पाएको थियो।

होबार्टका लागि निभेथन राधाकृष्णन र राफ माकमिलनले २-२ विकेट लिए भने मार्कस बिन, गाब्रियल बेल र ब्राड होपले १-१ विकेट हात पारे।

यसअघि, नेपालले खेलेका तीनवटै खेलमा हार बेहोरेको थियो। पहिलो खेलमा एनटी स्ट्राइक्स, दोस्रोमा बंगलादेश ‘ए’, र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो। नेपालले अब भोलि मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *