नेपालको दोस्रो खेल बंगलादेशसँग आज
काठमाडौं। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिज अन्तर्गत आज शनिबार नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग खेल्दै छ।
खेल नेपाली समयअनुसार डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा दिउँसो सवा २ बजे सुरु हुनेछ। नेपाली टोलीको नेतृत्व रोहित पौडेलले गर्नेछन्। बंगलादेश ‘ए’ को कप्तानी नुरुल हसनले सम्हाल्ने छन्।
दुवै टोली पहिलो खेलमा पराजित भएकाले आज पहिलो जितको खोजीमा छन्। नेपाल एनटी स्ट्राइकर्ससँग ४२ रनले हारेको थियो। बंगलादेश ‘ए’ लाई पाकिस्तान शाहीन्सले ७९ रनको फराकिलो अन्तरले हराएको थियो।
गत सिजनको उपविजेता बनेको बंगलादेश ‘ए’ टोलीमा अन्तर्राष्ट्रिय खेलको अनुभव भएका र बंगलादेश प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका खेलाडीहरू छन्।
२४ अगस्टसम्म डार्विन र पामरस्टनमा सञ्चालन हुने यस प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीसहित कुल ११ टोलीले ३६ लिग खेल खेल्नेछन्। नेपालले यसपछि मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्ने छ।
