अस्ट्रेलियामा टिम नेपालः बलिया प्रतिद्वन्द्वीसँग कस्तो होला प्रदर्शन?
-क्यान
काठमाडौं। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले आज शुक्रबार आफ्नो पहिलो खेलमा स्थानीय टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइक्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे डार्विनको मरारा क्रिकेट ग्राउन्ड–२ मा सुरु हुनेछ।
नेपाली टोलीको नेतृत्व रोहित पौडेलले गरेका छन्। एनटी स्ट्राइक्सको कप्तानी केन रिचार्डसनले सम्हाल्ने छन्।
एनटी स्ट्राइक्सको टोलीमा ‘बिग ब्यास’ जस्ता ठूला प्रतियोगिता खेलेका अनुभवी र बलिया खेलाडीहरूको बाहुल्य छ। डार्सी शर्ट, जेक वेदराल्ड र जोर्डन सिल्क जस्ता स्टार खेलाडीहरू यस टोलीका मुख्य आकर्षण हुन्। डार्सी शर्टले अस्ट्रेलियाको सिनियर टोलीबाट टी–२०आई खेलिसकेका छन्।
त्यस्तै, जेक वेदराल्डले उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रेलिया ‘ए’ टोलीमा पनि शतक प्रहार गरिसकेका छन् भने जोर्डन सिल्कले तीन पटक ‘बिग ब्यास’ को उपाधि जितेका छन्। बलिङतर्फ कप्तान केन रिचार्डसन पनि अस्ट्रेलियाका लागि खेलिसकेका अनुभवी पेस बलर हुन्।
गत वर्ष सेमिफाइनलसम्म पुगेको र सन् २०२३ को पहिलो संस्करणको उपाधि जितेको एनटी स्ट्राइक्ससँग नेपालको यो खेल रोचक हुने अपेक्षा गरिएको छ।
नेपालको टोलीमा रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, कुशल मल्ल, गुल्सन झा, भीम सार्की, रूपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहव आलम छन्।
२४ अगस्टसम्म चल्ने प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित कुल ११ टोली सहभागी छन्। नेपालले यसपछि बंगलादेश ‘ए’, मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनिगेड्स र पाकिस्तान शाहीन्ससँग पनि खेल्ने छ।
