जंगली च्याउ खाँदा उदयपुरमा एकै परिवारका ८ जना बिरामी
विषालु च्याउ खाएर बिरामी भएकाहरूको स्वास्थ्य जाँच गर्दै उदयपुरमा स्वास्थ्यकर्मी । फाइल तस्बिर
विराटनगर। उदयपुरको चौदण्डीगढी नगरपालिका–९ अजगरामा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका ८ जना बिरामी परेका छन्।
बिरामी पर्नेहरूमा ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा, ३१ वर्षीया संजु सदा, २९ वर्षीया मन्जु सदा, २९ वर्षीया सरिता सदा, १० वर्षीया सन्ध्या सदा, ११ वर्षीया सन्जा सदा र ५५ वर्षीय लल्कु सदा छन्।
बिरामीमध्ये गवनी सदा, गीता सदा र सरिता सदाको अवस्था गम्भीर रहेको जनाइएको छ। उनीहरूलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। अन्य ५ जनाको उपचार बेल्टारको नगर अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।
मंगलबार बिहान उनीहरूले जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए। त्यसपछि बान्ता हुने र टाउको दुख्ने जस्ता समस्या देखिएको थियो।
यसैबीच, चौदण्डीगढी नगरपालिका–९ का वडाध्यक्ष प्रकाश राउतले आर्थिक अवस्था कमजोर रहेका सदा परिवारको उपचार नगरपालिकाले गराइदिने बताएका छन्।
