चन्दा उठाएको प्रचार सत्य नभएको रास्वपाको दाबी

विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिले रास्वपा कोशी महामन्त्रीले आफूखुसी चन्दा रसिद छपाई पैसा उठाएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै खण्डन गरेको छ।

पार्टीको कोशी प्रदेश कार्यालयले विज्ञप्ति जारी गर्दै समाचारमा उल्लेखित आरोपहरू असत्य र भ्रामक रहेको दाबी गरेको छ। विज्ञप्तिमा २०८० सालको चन्दा रसिदबारे स्पष्ट पार्दै भनिएको छ, ‘इटहरी कोशी सम्पर्क कार्यालय स्थापना गरेका आधारले केही अगाडि २० हजार रुपैयाँको रसिद छपाई जिल्लाका टोलीका टोली पठाइ चन्दा उठाए’ भन्ने आरोप असत्य छ।’

प्रेस विज्ञप्तिअनुसार, रास्वपाको केन्द्रीय संगठन विभागको निर्देशनमा कोशी प्रदेश समितिको बैठकबाट निर्णय गरी जम्मा ५० प्याड रसिद छपाइएको थियो। सो रसिद २०८० जेठमा छपाइएको र प्रति प्याड २४ को दरले कुल १२ सय रुपैयाँ खर्च भएको जनाइएको छ।

विज्ञप्तिमा सो रसिदको विवरण पनि खुलाइएको छ। ५० प्याडमध्ये उदयपुर जिल्लाले १० प्याड लगेको र त्यसमध्ये ६ प्याडबाट उठेको १० हजार २०० रुपैयाँ भुक्तानी गरेको उल्लेख छ। बाँकी चार प्याड खाली नै फिर्ता गरिएको र यसबारे जिल्ला समिति उदयपुरबाट पत्र पनि प्राप्त भएको रास्वपा कोशी प्रदेशले जनाएको छ।

यसैगरी, ताप्लेजुङ जिल्लाले १२ प्याड लगेकोमा हालसम्म हिसाब आउन बाँकी रहेको र अन्य २८ प्याड प्रदेश कार्यालयमै सुरक्षित रहेको पार्टीको कोशी प्रदेश समितिका कार्यवाहक प्रवक्ता प्रकाश अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

२० हजार मात्र प्याड छपाइएको र कोशी प्रदेश सचिवालय इटहरी सम्पर्क कार्यालय २०८२ सालमा स्थापना भएको भन्दै २०८० सालको चन्दा र २०८२ सालको इटहरी सम्पर्क कार्यालयबीच कुनै सम्बन्ध नरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *