रिहाइ माग्दै रवि लामिछानेद्वारा अदालतमा निवेदन
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सहकारी ठगीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा रिहाइको माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन्।
उनले आफू निर्दाेष रहेको र ठगीमा आफ्नो संलग्नता नभए पनि तत्कालका लागि आफ्नो भागमा परेको बिगो बराबरको रकम बैंक ग्यारेन्टी राखेर रिहा गर्न आग्रह गरेका छन्।
रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने लगायत प्रतिवादीहरूलाई कुल १० करोड ९९ लाख रुपैयाँ बिगो तोकिएको छ। लामिछानेले आफूलाई छुट्याइएको बिगो बराबरको रकम धरौटी राखेर रिहा गर्न निवेदन दिएका छन्।
उनले फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार यो निवेदन दिएका हु्न्। यी दफाहरूले अभियुक्तसँग धरौटी लिएर रिहा गर्न सक्ने र मुद्दाको कुनै पनि अवस्थामा अदालतले यस्तो निर्णय गर्न सक्ने अधिकार दिएका छन्।
