दिपाको ‘विजयिनी’ पूर्वेली पाठकमाझ

विराटनगर। सर्जक दिपा दाहालले सार्वजनिक गरेको कथा सङ्ग्रह ‘विजयिनी’ माथि विराटनगरमा विमर्श गरिने भएको छ। कथा, कविता, लेख, निबन्ध जस्ता विधामा सिर्जना गर्दै आएकी उनको यो प्रकाशित पहिलो कृति हो।

यही कृतिको साउन २४ गते शनिबार दिउँसो २ बजे विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा विमोचन गरिँदैछ। त्यसै अवसथमा कृतिमा विमर्श पनि गरिने भएको छ। कृतिको विमोचन अग्रज सर्जक कुन्ता शर्माद्वारा हुनेछ भने डा. अस्मिता विष्ट, आन्विका गिरी र दिपा दाहालको सहभागितामा कृतिमाथि विमर्श र अन्तर संवाद गरिने छ । यस्तै, प्रदिप दाहालले कृतिमा रहेको कथा वाचन गर्ने कार्यक्रम छ।

झापाको कमल गाउँपालिकामा जन्मी हुर्की गरेकी दाहालले दमक बहुमुखी क्याम्पसमा पढ्दाताका साहित्यतिर पाइला अघि बढाएकी थिइन्। उनले क्याम्पस र अन्यत्र आयोजना हुने कार्यक्रमहरूमा आफ्ना सिर्जना सुनाउने गरेकी थिइन्।

हाल विराटनगरमा बस्दै आएकी दाहालको कृति ‘विजयिनी’ मा ११ वटा कथा संग्रहित छन्। अधिकांश कथामा महिला पात्रहरू प्राथमिकतामा राखिएका छन्।

विराटनगरमा रहेर पनि उनले साहित्यिक गतिविधिहरूमा सक्रिय सहभागिता जनाउने गरेकी छन्। समसामयिक विषयहरूमा उनले विभिन्न माध्यमहरूमा लेख पनि लेख्ने गरेकी छन्।

अधिकांश नेपाली सिर्जना पुरुषवादी चिन्तन र दृष्टिकोणबाट लेखिएको तर महिलाका कुराहरू उति नलेखिएको दाहालको बुझाइ छ। महिलाको कथा महिलाकै दृष्टिकोणबाट निकै कम लेखिएको उनको भनाइ छ। महिलाको सुन्दरता र शृङ्गारका कुराहरूमात्र बढी लेखिने गरेको तर संघर्ष र पीडाका कुराहरु कम लेखिएको दाहाल बताउँछिन्।


प्रतिक्रिया

One thought on “दिपाको ‘विजयिनी’ पूर्वेली पाठकमाझ

  1. सान्दर्भिक र समसामयिक विषयबस्तुमा आधारित ” बिजयिनि ” संग्रङ्ह लाई शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *