उदयपुरमा ट्रकको ठक्करबाट वृद्धको मृत्यु, एक गम्भीर घाइते
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगिटोलस्थित मदन भण्डारी लोकमार्गमा आज दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख ०५६१ नम्बरको ट्रकले पैदल हिँडिरहेका रौतामाई गाउँपालिका–७ निवासी ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरलाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार मगरको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा ट्रकका सहचालक, दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–४ निवासी ४० वर्षीय गोमे दर्जीको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ। उनलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ।
ट्रक चालक, काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–१४ निवासी ५४ वर्षीय नवराज राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
