‘सरु संगीत राष्ट्रिय पुरस्कार’ कवितालाई

काठमाडौं। नेपाली लोक संगीत क्षेत्रमा ५० वर्षभन्दा लामो समयदेखि सक्रिय वरिष्ठ लोक गायिका कविता आलेलाई ‘प्रथम सरु संगीत राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ।

संगीत शिक्षा प्रदान गर्दै आएको सरु संगीत घरले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा उनलाई यो पुरस्कार प्रदान गर्ने भएको हो। पुरस्कारको राशि २५ हजार ५०५ रुपैयाँ छ।

भदौ १४ गते सरु संगीत घरको वार्षिकोत्सव समारोहमा आलेलाई यो पुरस्कार प्रदान गरिनेछ। दिवंगत सरस्वती निरौलाको स्मृतिमा उनका परिवारका सदस्यहरू गायक, संगीतकार कोमल निरौला, श्रीमती इन्दिरा निरौला, छोरा संगीतकार डेनी निरौला, बुहारी सबिता नेपाल निरौला, संगीतकार भीषण निरौला, सृजना अधिकारी, छोरी गायिका झुमा निरौला तथा ज्वाइँ सबिन भट्टराईको संयुक्त प्रयासमा यो पुरस्कार स्थापना गरिएको हो।

पुरस्कारका लागि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ। सरु संगीत घरले गायक, संगीतकार कोमल निरौलाको संयोजकत्वमा वरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङ, वरिष्ठ गायिका लोचन भट्टराई, साहित्यकार डा. रत्नमणि नेपाल र प्रबन्ध निर्देशक डेनी निरौला सम्मिलित छनोट समितिले आलेको नाम तय गरेको जनाएको छ।

कविताले नेपाली गीत–संगीतमा उल्लेख्य योगदान पुर्याएकी छन्। ललितपुरको महालक्ष्मी नगरपालिका–५ मा अवस्थित सरु संगीत घरले पाँच वर्षदेखि संगीत क्षेत्रमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ।

त्यहाँ ८५ जना विद्यार्थीहरूले गायन (शास्त्रीय, आधुनिक, लोक) र विभिन्न वाद्यवादन (हार्माेनियम, मादल, गिटार, किबोर्ड, तबला आदि) को प्रशिक्षण लिइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *