राप्रपा विवाद चुलिँदैः लिङदेनका स्वकीय सचिवद्वारा गैरेलाई कुटपिट

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक किचलो चुलिएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय–सचिव छत्र खडायतले पत्रकार तथा युवा नेता राजु गैरेलाई बुधबार साँझ कुटपिट गरेका छन्।

यो घटना अध्यक्ष लिङ्देनको निर्देशनमा भएको पीडित गैरेले आरोप लगाएका छन्। धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालय सामुन्ने रहेको ‘छाप्रो रेष्टुरेन्ट’ मा बुधबार साँझ यो घटना भएको हो।

मोटरसाइकलमा आएका खडायतले साथीहरूसँग चिया पिइरहेका गैरेलाई छेउमा बोलाएर अचानक बुलेट बाइकको हेलमेटले आक्रमण गरेको पीडित पक्षले जनाएको छ।

पीडित गैरेका अनुसार, अध्यक्षले कुट भन्नुभएको छ, तँलाई म मार्दिन्छुु भन्दै धम्की दिएका थिए। गैरेले घटनापछि यिनै विवरण खुलाएर खडायतमाथि हदैसम्मको कानुनी कारबाहीको माग गर्दै महाराजगन्जस्थित प्रहरी वृत्तमा उजुरी दिएका छन्।

राजु गैरे ‘स्टार्स खबर’ सँग सम्बन्धित पत्रकार हुन्। विद्यार्थीकालदेखि नै राप्रपामा सक्रिय रहेका गैरेले गत प्रदेशसभा निर्वाचनमा पाल्पाबाट राप्रपाको तर्फबाट उम्मेदवारी दिएका थिए।

‘हलो’ चिह्न लिएर चुनावमा होमिएका गैरेले सो निर्वाचनमा सम्मानजनक मत पाए पनि पराजित भएका थिए।

यो घटनाले राप्रपाभित्रको आन्तरिक द्वन्द्व र राजेन्द्र लिङ्देन समूहमाथि गुण्डागर्दीको शैली अपनाएको भन्ने आरोपलाई थप बल पुर्याएको छ। यस विषयमा राप्रपा र अध्यक्ष लिङ्देनको आधिकारिक धारणा भने आइसकेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *