आधारभूत विद्यालयलाई नमुना बनाउने स्थानीय पहल

झापा। राउण्ड टेबल बिर्तामोड–२७ ले झापाको बाह्रदशी–३ स्थित रामनगर आधारभूत विद्यालयलाई नमुना विद्यालय बनाउने महत्वाकांक्षी परियोजना सुरु गरेको छ। विशेषगरी सीमान्तकृत समुदायका बालबालिकाहरू अध्ययन गर्ने र भौतिक सुविधामा पछि परेको यस विद्यालयको विकासका लागि यो पहल गरिएको हो।

लाखौँको बजेट खर्च गरेर नमुना विद्यालय बनाउने परियोजनाअन्तर्गत पहिलो चरणमा राउण्ड टेबल बिर्तामोड–२७ ले रामनगर आधारभूत विद्यालयमा खानेपानी र शौचालय बनाएको छ। करिब ३ लाख रुपैयाँ लागतमा निर्मित खानेपानी र शौचालय विद्यालयलाई हस्तान्तरण समेत गरिएको छ।

विद्यालयको अभिभावकत्व ग्रहण गर्दै नमुना विद्यालय बनाउनका लागि करिब ३० लाख रुपैयाँ खर्च गर्ने योजना रहेको राउण्ड टेबल बिर्तामोड–२७ का अध्यक्ष मनोज गोयलले बताए। अब कक्षा कोठा, कम्प्युटर, ई–लाइब्रेरी, प्लेग्रुप विद्यार्थीहरूका लागि कोठा लगायतका संरचना बनाइने उनले बताए।

उक्त संस्थाले यसअघि झापाको बिर्तामोड–१० स्थित चमरधाप प्राथमिक विद्यालयमा कक्षाकोठा, कम्पाउन्ड वाल, शौचालय र खानेपानी निर्माण गरिदिएको थियो। सामाजिक संस्था राउण्ड टेबल नेपाल अन्तर्गतको उक्त संस्थाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको छ।

अध्यक्ष गोयलले सामाजिक उत्तरदायित्वअन्तर्गत शुद्ध खानेपानी र सुरक्षित शौचालय उपभोग गर्न पाउने विद्यार्थीहरूको अधिकार सुनिश्चित गर्नका लागि विद्यालयहरूलाई सहयोग गर्दै आएको उल्लेख गरे।

गोयलको अध्यक्षता तथा बाह्रदशी गाउँपालिकाकी अध्यक्ष शान्ता शिवाकोटी खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागी सबै वक्ताहरूले राउण्ड टेबल बिर्तामोड–२७ ले गरेको उदाहरणीय कार्यको खुलेर प्रशंसा गरेका थिए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खरेल, बाह्रदशी–३ का वडाध्यक्ष टंकप्रसाद शाह, पूर्व वडा अध्यक्ष वीरेन्द्रप्रसाद राजवंशी, बाह्रदशी सामुदायिक क्याम्पसका अध्यक्ष गंगाप्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्य झरु राजवंशी, प्रधानाध्यापक यज्ञप्रसाद थापा लगायतले बोलेका थिए।

संस्थाका सचिव दीपक मित्तलले आफ्नो संस्थाको गतिविधिबारे प्रकाश पारेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन्।

२०४५ सालमा स्थापना भएको रामनगर आधारभूत विद्यालयमा कक्षा ८ सम्म अध्यापन हुन्छ। जम्मा १५० जना विद्यार्थीहरूमध्ये अधिकांश राजवंशी र मुस्लिम समुदायका छन्।

विद्यालयमा १२ जना शिक्षक कर्मचारी कार्यरत छन्। मा ८ जना (५ आदिवासी, ३ मुस्लिम), कक्षा २ मा १३ जना (१३ आदिवासी), कक्षा ३ मा १३ जना (६ आदिवासी, ५ मुस्लिम, १ खस, १ मधेसी), कक्षा ४ मा १९ जना (६ आदिवासी, ६ मुस्लिम, ४ खस, २ दलित), कक्षा ५ मा १२ जना (७ मुस्लिम, ४ आदिवासी, १ खस), कक्षा ६ मा १५ जना (१० आदिवासी, ४ खस, १ दलित), कक्षा ७ मा २१ जना (१० आदिवासी, ६ मुस्लिम, ४ खस, १ दलित) र कक्षा ८ मा २२ जना (११ आदिवासी, ६ मुस्लिम, ४ खस, १ दलित) विद्यार्थी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *