झापामा घरमा आगलागी हुँदा एकै परिवारका ४ जना घाइते
झापा। हल्दीबारीमा एउटा घरमा लागेको आगो निभाउने क्रममा मंगलबार एकै परिवारका चार जना जलेर घाइते भएका छन्। हल्दीबारी गाउँपालिका–४, ओली चोकस्थित ६० वर्षीय पुण्यप्रसाद ओलीको घरमा आगलागी भएको थियो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार बिहान ८ः४० बजेतिर रोटी पकाउने क्रममा इँटाले बनेको तीनतले पक्की घरको दोस्रो तलामा रहेको भान्सा कोठामा आगलागी भएको थियो।
अचानक लागेको आगो नियन्त्रणमा लिने क्रममा घरधनी पुण्यप्रसाद ओली, उनका छोराहरू ३३ वर्षीय सन्तोष ओली, २० वर्षीय आर्यन ओली र बुहारी ३२ वर्षीया अनिता ओली घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये पुण्यप्रसादको अवस्था मध्यम र अरूको सामान्य रहेको जनाइएको छ। घाइतेहरूलाई उपचारका लागि भद्रपुरको ओमसाई पाथीभरा अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।
आगोले घरको भान्सा कोठामा आंशिक क्षति पुगेको छ। स्थानीयको सहयोगमा करिब ४५ मिनेटपछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
