अवैध रुपमा श्रमिकलाई मलेसिया नपठाउन चेतावनी
-एआई इमेज
काठमाडौं । मलेसियास्थित नेपाली राजदूतावासले वैदेशिक रोजगारीका नाममा भइरहेका ठगी र अनधिकृत गतिविधिको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पछिल्लो समय केही म्यानपावर व्यवसायीहरूले अवैध तरिकाले नेपाली कामदार मलेसिया पठाएको समाचार आएपछि दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता कार्य रोक्न सचेत गराएको हो।
दूतावासले वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण प्रक्रिया नेपालको वैदेशिक रोजगार ऐन तथा नियमावलीबमोजिम गर्नुपर्ने र यसमा वैदेशिक रोजगार विभागको पूर्वस्वीकृति अनिवार्य रहेको स्पष्ट पारेको छ। मागपत्र प्रमाणीकरण नगरी वा अनधिकृत तरिकाले कामदार पठाउने कुनै पनि कम्पनी वा म्यानपावरमाथि निगरानी राखिने दूतावासले बताएको छ।
दूतावासले वैदेशिक रोजगारका लागि विदेश जाने कामदारहरूलाई पूर्वस्वीकृति लिन, दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्ने, अनलाइन आवेदन भर्ने, अन्तर्वार्ता दिने, अन्तिम नामावली प्रकाशन गर्ने, स्वास्थ्य परीक्षण, बीमा, कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने प्रक्रियामा सहभागी भएर मात्र विदेश जान आग्रह गरेको छ।
त्यस्तै, दूतावासले नेपाली श्रमिकहरूलाई मलेसिया पठाउन कुनै पनि एजेन्सी वा म्यानपावर कम्पनीले दूतावासबाट मागपत्र प्रमाणीकरण गराएको हुनुपर्ने र मेनपावर व्यवसायीले वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति लिएको हुनुपर्नेमा जोड दिएको छ। यदि यी प्रक्रिया पूरा नगरी कोही गएको पाइएमा सोको जानकारी दूतावासलाई गराउनसमेत आग्रह गरिएको छ।
