‘अस्वस्थ गतिविधि’ प्रति ओलीको आक्रोश

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नवौं केन्द्रीय कमिटी बैठकको सुरुवातमा केही नेताहरूलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको ‘प्रवक्ता’ नबन्न चेतावनी दिएका छन्।

उनले भण्डारीले अहिलेसम्म केही नभनेको अवस्थामा अरूले उनको नाममा बोल्न नहुने बताए। अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीको वरिपरि घुम्ने नेताहरूप्रति कडा रोष प्रकट गरे। विशेषगरी चुनाव हारेका नेताहरू भण्डारीको पछि लागेर हिँडेकोमा उनले आपत्ति जनाए।

यद्यपि, उनले आफूले नै पूर्वराष्ट्रपति भण्डारीलाई बालुवाटार बोलाएको स्वीकार गरे। तर, भण्डारीले लामो समयदेखि पार्टी कार्यालय नगएको भन्दै च्यासलमा भेट्न आग्रह गरेको उनले बताए। “विद्याजीलाई बालुवाटार नै बोलाएको थिएँ, उहाँले पार्टी कार्यालय देखेको छैन भन्नुभयो। च्यासलमा भेटियो,” ओलीले भने, “पूर्वराष्ट्रपति र प्रधानमन्त्री भेट्दा के ठूलो कुरा भयो र तपाईंहरूले ठूलो बनाउनुभएको छ।”

उनले भण्डारीले के गर्छु भनेर स्पष्ट नपारिसकेकाले कसैलाई पनि उनको ‘प्रवक्ता’ नबन्न सुझाव दिए। “कोही उहाँको प्रवक्ता बन्नुभएको छ, त्यो किन पर्‍यो त्यो?” ओलीले प्रश्न गरे, “उहाँले के गर्नुहुन्छ भनिसक्नुभएको छैन।”

ओलीले पार्टीभित्र अस्वस्थ गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरे। पार्टीको राजनीतिक प्रतिवेदनका रूपमा मौखिक भनाइ राख्दै उनले एमालेको आन्दोलनले सधैँ हमला बेहोरेको बताए। “हाम्रो आन्दोलनले सधैँ हमला बेहोरेको छ, विरोधीहरूले हाम्रो समर्थन गर्दैनन्, झुट र बेइमान छन्। स्तरहीन छन्। अफवाह फैलाउँछन्, हाम्रो पार्टीले इतिहासदेखि हमला झेलेको हो,” ओलीले इतिहास कोट्याए, “८ सालदेखि १३ सालसम्म हाम्रो पार्टीलाई प्रतिबन्ध लागेको थियो। मतभेदहरू हुन्थ्यो, पछिल्लो समय जस्तो घुसपैठ भने थिएन।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *