‘घुस डिल’ प्रकरण: पूर्वमन्त्री गुप्ता र बिचौलिया अख्तियारको बयानमा

काठमाडौँ। पोखराको बाटुलेचौरस्थित लिची बगैंचाको जग्गा हडप्ने ‘गोप्य घुस डिल’ मा मुछिएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ।

गत साता सार्वजनिक भएको अडियोमा मालपोत र भूमि आयोगका अधिकारीहरूलाई प्रभावमा पारेर जग्गा हात पार्ने सेटिङको कुरा सुनिएको थियो। घुसको अडियो बाहिरिएपछि गुप्ताले गत असार ३१ गते मन्त्री पदबाट राजीनामा दिएका थिए।

सोही प्रकरणमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी भने अझै पदमा छन्। उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन्।

तर, अडियोमा अधिकारीले आफ्ना छोरामार्फत लिची बगानको जग्गा हत्याउने योजनाअनुसार घुस बुझेको दाबी गरिएको छ। यसैगरी, भूमि व्यवस्था मन्त्रालयका तत्कालीन सचिव अर्जुनप्रसाद पोखरेलले पनि बिचौलियाको योजनाअनुसार काम गराउन ५ लाख रुपैयाँ घुस र मदिरा बुझेको दाबी अडियोमा सुन्न सकिन्छ।

अधिकारी र गुप्ता दुवै एमालेबाट प्रतिनिधिसभा सदस्य हुन्। गुप्ता, बिचौलिया लामा र अर्की एक महिलाबीच भैंसेपाटीस्थित मन्त्री निवासमै जग्गासम्बन्धी घुस डिल भएको आशंका गरिएको छ। उक्त संवादमा मन्त्री अधिकारीको संलग्नताबारे पनि कुरा भएको अख्तियारका एक अधिकारीले बताएका छन्। यस प्रकरणमा संलग्न व्यक्तिहरूमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *