युवतीले गरिन् युवकको हत्या
धनुषा। धनुषामा एक युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा महोत्तरीकी जुली झा छिन्। उनले महोत्तरीका बिमलेश यादवलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीको आरोप छ।
प्रहरीका अनुसार, जुली र बिमलेशबीच लामो समयदेखि चिनजान र आर्थिक लेनदेन थियो। गत शनिबार राति उनीहरू जनकपुरधामको एसपी एन्ड गेस्ट हाउसको कोठा नम्बर १०२ मा बसेका थिए।
सोही रात करिब ३ बजे बिमलेश यादव शरीरभरि चोट र रगत बगेको अवस्थामा नाङ्गै होटलको पहिलो तलाबाट तल खसेको सीसीटीभी फुटेजमा देखिएको छ। त्यसको केही मिनेटपछि जुली झा होटलको पछाडिको गेटबाट भागेको पनि सीसीटीभीमा देखिएको धनुषा प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाउने बित्तिकै प्रहरीले बिमलेशलाई अस्पताल पुर्याएको थियो, तर उनको आइतबार बिहान मृत्यु भयो।
धनुषा प्रहरीले जुली झालाई आइतबार दिउँसो धनुषाबाट महोत्तरीतर्फ भाग्दै गर्दा पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
