‘चोट के हो, व्यथा के हो म जस्तो घाइतेलाई सोध’

जीवनमा पहिलोपटक घर छाडेर टाढा हिँडेको थिएँ। काठमाडौं मेरा लागि नयाँ पृथ्वी थियो। काठमाडौं शहर टेकेको लगभग दुई हप्ता भइसकेको थियो।

बागबजारको कान्तिपुर गेस्टहाउससँगै जोडिएको एउटा घरको बीच तलामा गाउँले साथीको कोठा थियो। बेलुका चाँडै गेट लाग्ने हुनाले दाइको कोठाबाट हतारहतार खाना खाएर सुत्न साथीको कोठामा आउँथें। त्यतिबेला दुधिया रम पच्चीस रुपैयाँमा पाइन्थ्यो। आउँदा सधैँ दुई क्वाटर गोजीमा बोक्थ्यौँ र सुत्नेबेला एक–एक क्वाटर स्वाट्टै पारेर सुत्थ्यौँ।

एक साँझ झ्याल खोलेर चुरोट खाँदै घरको सम्झनामा डुबिरहेको थिएँ। अचानक कान्तिपुर गेस्ट हाउसको भुईँतलाको कोठामा झ्यालछेउ कोही मान्छे सुतिरहेको देखें। दुईवटा भवनबीच अलिक साँघुरो भाग भएकाले होला, खुट्टा र खुट्टा छेउमा राखिएको एउटा पुरानो गितार मात्र स्पष्ट देखिन्थ्यो।

म आफैँ पनि संगीतप्रेमी भएकाले सोचेँ, ‘मजस्तै संगीतप्रेमी मान्छे होला, जो गीत गाउँदा गाउँदै थाकेर भर्खर निदाएको होला।’

भोलिपल्ट पनि त्यसरी नै चुरोट खाँदै झ्यालमुनि आँखा पुर्याएँ। त्यो मानिस हिजो जसरी नै सुतिरहेको थियो। लगभग हप्ता दिनसम्म पनि त्यसरी नै सुतिरहेको देखेपछि मनमा कौतुहलता जाग्यो र साथीलाई सोधें,

“हौ लुङ्गा, त्यो गेस्टहाउसको तल कोठामा सधैँ एउटा मान्छे सुतिरहेको हुन्छ त हौ, गितार पनि छ।”

“खै हौ, को हो को हो, दुई महिना जति भयो मैले पनि देखेको। न गीत गाएको सुनिन्छ न गितार बजाएको।”

मनमनै सम्झेँ, ‘कुनै रक्स्याहा मान्छे होला, सधैँ बिहानैदेखि पिलित्तै भएर सुतिरहन्छ।’

फेरि सोचेँ, ‘कि कुनै वैदेशिक रोजगारमा हिँडेको मान्छे जसको सबै पैसा दलालले खाइदिएर घर–ऋण सम्झँदै बिजोगले गेस्टहाउसमा बसिरहेको होला।’

…यस्तै अनेक अनुमानहरू मनमा खेलिरह्यो।

एक दिन साथीकै कोठामा कान्तिपुर एफएम सुन्दै बसिरहेको थिएँ। अहिले सम्झँदा साउनको महिना, त्यस्तै बिहानको ८–१० बजेको हुनुपर्छ।

अचानक एउटा समाचार सुनेर झसङ्ग भएँ –

“प्रसिद्ध गायक अरुण थापाको कान्तिपुर गेस्टहाउसमा मृत्यु”

हतारहतार झ्याल खोलेर हेरें। कोही देखिएन।

दौडँदै गेस्टहाउसतिर गएँ। सुनसान थियो। लास अघि नै लगिसकेको रहेछ।

केही क्षण टोलाएर कोठामै फर्किएँ। दिनभर मन बेचैन भइरह्यो।

कसरी एउटा प्रसिद्ध गायकले गेस्टहाउसमा बेवारिसे भएर मर्नुपर्यो?

जीवनका अन्तिम क्षणमा कहाँ गए आफन्तहरू?

के आफन्त सबै भ्रम हुन्?

एउटा प्रसिद्ध गायक, जसका गीतहरू सुनेर म जीवनको गहिरो तलाउमा डुब्थें। आफ्नै संसारमा हराउँथें। उनका गीतका आरोह-अवरोहहरूमा स्वस्फूर्त निर्माण भएका चौतारीमा बसेर जीवनका कहालीलाग्दा थकानहरू मेट्थें।

आजसम्म पनि थकथक लागिरहन्छ।

यदि ‘त्यो मानिस प्रसिद्ध गायक अरुण थापा हो’ भन्ने थाहा पाएको भए कम्तीमा त्यहाँ गएर एकपल्ट उनका औँलाहरू सुम्सुम्याउँथें। आफ्नै हातले एक गिलास जुससम्म पिलाउँथें।

दिनभर उनकै गीतहरू सुन्दै निथ्रुक्क भिजेँ।

‘चोट के हो, व्यथा के हो म जस्तो घाइतेलाई सोध
मिलन के हो ? खुसी के हो…’

उनी बितेको लगभग २६ वर्ष भइसकेछ।

मेरा प्रिय श्रद्धेय गायक अरुण थापाज्यूप्रति हार्दिक श्रद्धाञ्जली।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *