अरुण थापा : रक्सी, ड्रग्स र ट्रयाजेडी मात्र हुन् ?

गायक सङ्गीतकार अरुण थापा आजकै दिन २६ वर्षअघि बिते। गत वर्ष उनकी पूर्वपत्नी झुना पनि बितिन्। उनलाई धेरै माया गर्ने उनका साला सन्तोष क्षेत्री जसलाई हामी सैन्डी भन्थ्यौं ऊ पनि पाँच वर्षअघि बित्यो।

अरुणकी छोरी करुणाको विवाह अष्ट्रेलियामा भयो। उनी त्यहाँ सुखी छिन् तर बुबाको नाम लिएर मान्छेले कुरा गर्दा उनी बेला बेला दुःखी हुन्छिन्। करुणा मलाई बेला बेला फोन गर्छिन्, दुःख पोख्छिन्।

गत वर्ष उनको घरमा उनका एक आफन्त पुगे तर उनले अरुणको फोटो कपडाले छोपेर राखेकी रहिछिन्। उनका ती आफन्तले नेपाल फर्केर आएपछि मलाई भने, ‘प्रकाशजी, तपाईं करुणाको कुरा गर्नुहुन्छ। करुणाले आफ्नो बाबुको फोटो नै छोपेर राखिन्।’

उहाँको कुरा सुनेपछि मैले भनें, ‘एउटी छोरीलाई कति दुःख दिनुहुन्छ? यहाँ अरुण स्मृति दिवस मनाउँछन्, मान्छे अरुणका गीतको कुरा कम गर्छन्, रक्सी, ड्रग्स, ट्रयाजेडीका मात्र कुरा गर्छन्। अनि छोरीलाई पनि दिक्क लाग्दो हो।’

मैले सम्झेँ, करुणा ज्ञानोदयमा पढ्दै गर्दा उनको स्कूल फी तिर्नु पर्ने जिम्मा लिएको एउटा कलाकार सम्बन्धी संस्थाले पैसा नै खाइदियो। त्यतिबेला करुणाकी हजुरआमाले फोन गरेर दुःख व्यक्त गरिन्। मैले गर्न सक्ने केही गरें, त्यसको अर्थ केही भएन।

आज पनि मान्छे ‘अरुण स्मृति दिवस’ आयो कि अरुणलाई गीतका कारणले, योगदानका कारणले सम्झोस् भन्ने मेरो निवेदन छ।

मेरा प्रिय मित्र अरुण, हार्दिक श्रद्धाञ्जली।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *