नेपालले भुटानलाई ८-० गोलले हरायो

काठमाडौं। बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई ८–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ। पूर्णिमा राई र मीना देउवाको ह्याट्रिकको मद्दतले नेपालले आफ्नो पाँचौं खेलमा यो शानदार जित निकालेको हो।

नेपालका पूर्णिमा राई र मीना देउवाले समान ३–३ गोल गर्दै ह्याट्रिक पूरा गरे। कुसुम खतिवडाले १ गोल गरिन् भने एक गोल आत्मघाती उपहार मिलेको थियो।

नेपालले पहिलो हाफमा नै ६–० को फराकिलो अग्रता बनाएको थियो।

खेलको पहिलो मिनेटमा नै मीनाले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। नवौं मिनेटमा समिक्षाको प्रहार क्रसबारमा लागेर गोलकिपरलाई छुँदै पोस्टभित्र छिरेपछि अग्रता दोब्बर भयो।

१२औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गरिन्। २३औं मिनेटमा मीनाको पासमा पूर्णिमाले गोल गरिन्। इन्जुरी समयको पहिलो मिनेटमा सरिता कुमारीको फ्रिकिकमा पूर्णिमाले हेडर गोल गरिन्।

इन्जुरी समयकै अन्तिममा पूर्णिमाले ह्याट्रिक पूरा गरिन्। ६३औं मिनेटमा कुसुम खतिवडाले गोल गरिन्। लगत्तै ६४औं मिनेटमा मीनाले ह्याट्रिक पूरा गरिन्।

प्रतियोगितामा नेपालको भुटानसँगको दोस्रो भेट हो। यसअघि नेपालले भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो। पहिलो खेलमा भुटानलाई ६-१ ले पराजित गरेको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ३-२ ले पराजित भएको थियो।

तेस्रो र चौथो खेलमा श्रीलंकासँग समान ७–० गोलअन्तरको जित हासिल गरेको नेपालको ५ खेलबाट १२ अंक भएको छ। बंगलादेशको ४ खेलबाट १२ अंक छ। बंगलादेशले आजै बेलुका श्रीलंकासँग खेल्दै छ।

चार टोली सहभागी यो च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ, जहाँ धेरै अंक जोड्ने शीर्ष स्थानको टोली च्याम्पियन बन्नेछ। नेपालले आफ्नो अन्तिम खेल सोमबार बंगलादेशसँग खेल्नेछ, जुन निकै महत्त्वपूर्ण हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *