झापाको बाह्रदशीमा दुर्घटना : मृतकको संख्या ४ पुग्यो
झापा। बाह्रदशीमा भारतीय मोटरसाइकल र नेपाली स्कुटर ठोक्किँदा भएको दुर्घटनामा मृतकको संख्या चार पुगेको छ। दुर्घटनामा घाइते भएकी कचनकवल–३ की उर्मिला राजवंशीको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुसार शुक्रबार १ः३५ बजे बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उनको मृत्यु भएको हो।
यसअघि, असार २६ गते उनकी सात वर्षीय छोरा आयुष राजवंशीको पनि उपचारका क्रममा मृत्यु भएको थियो। दुर्घटना भएको दिन, असार २५ गते दुवै सवारीका चालकहरूको प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको थियो।
मृत्यु हुनेहरूमा भारतीय मोटरसाइकल (बिआर ३७ एजेड ६४४०) का चालक भारत, किसनगञ्जका २५ वर्षीय सुरज टुडु र स्कुटर (प्र।१–०१–०१६ प ९२७०) का चालक कचनकवल–३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी छन्। उर्मिला राजवंशी मृतक श्रीप्रसादकी बुहारी हुन्।
उक्त दुर्घटना बाह्रदशी–१ खयरबारीको भित्री सडक खण्डमा भएको थियो। राजगढबाट कुटीतर्फ जाँदै गरेको भारतीय मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स्कुटर आपसमा ठोक्किएका थिए।
