झापामा ठूलो परिमाणमा लागुऔषध बरामद, एमाले नेताको संलग्नता

झापा। बिर्तामोड नगरपालिका–५, मंगलदीप टोलबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध भण्डारण गरिएको एउटा गोदाम नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार, यस कारोबारमा एमालेका स्थानीय नेता भानुभक्त खरेलको संलग्नता देखिएको छ।

प्रहरीले बिहीबार छापा मारेर २५ वर्षीय विनोद घिमिरेलाई पक्राउ गरेको थियो। घिमिरेले प्रहरीसमक्ष र पत्रकार सम्मेलनमा लागुऔषधको मुख्य कारोबारी र मालिक एमाले नेता भानुभक्त खरेल भएको बयान दिएका छन्। खरेलको निर्देशनमा लागुऔषध ढुवानी गर्ने काम मात्रै आफूले गर्दै आएको उनको भनाइ छ।

प्रहरी अनुसन्धानबाट पनि खरेलको प्रत्यक्ष संलग्नता पुष्टि भएको छ। बरामद गरिएको लागुऔषध खरेलकै निर्देशनमा भित्र्याइएको खुलेको छ। प्रहरीले मंगलदीप टोलस्थित मनकुमार संग्रौलाको घरबाट उक्त लागुऔषध बरामद गरेको हो। यो घरका दुई कोठा खरेलले नै भाडामा लिएर लागुऔषध भण्डारण गरेको खुलेको छ।

प्रहरीले बरामद गरेको लागुऔषधमा ट्रामाडोल हाइड्रोक्लोराइट क्याप्सुल (१ लाख ३ हजार ८ सय क्याप्सुल), ट्रामाडोल हाइड्रोक्लोराइट इन्जेक्सन ट्रामाडेक्स (१ हजार ८७० एम्पुल), ट्रामाडोल एण्ड एसिटामिनोफेन ट्याब्लेट (४ हजार ५०), डिसाइक्लोमाइन एचसिएल ट्याब्लेट (९७ हजार ट्याब्लेट), सिल्डेनाफिल ट्याब्लेट (८ हजार ९ सय ट्याब्लेट) र कम्बिप्याक अफ मिफेप्रिस्टोन ट्याब्लेट एण्ड मिसोप्रोप्सोल ट्याब्लेट (७ हजार ६५० ट्याब्लेट) छन्।

खरेल एमाले झापाका स्थानीय नेता हुन् र मेडिकल व्यवसायी पनि हुन्। उनले सनलाइट फर्मा नामक फार्मेसी सञ्चालन गर्दै आएको प्रहरीले बताएको छ। लागुऔषध नियन्त्रणमा आएपछि खरेल भने फरार छन्। प्रहरीले उनको खोजी कार्य भइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *