ग्यास लिक भएर दमकको होटेलमा आगलागी

झापा। दमक नगरपालिका-६ मा रहेको एक होटेलमा बिहीबार दिउँसो ग्यास ‘लिक’ भएर आगलागी भएको छ।

प्रहरीका अनुसार, दिलमाया लावतीले चलाउँदै आएको ‘सेवारो होटेल’ मा यो घटना भएको हो। स्थानीय सुरेशकुमार थापाको जग्गामा टिनको छानो र टिनकै बेराले बनेको एक तले कच्ची घरमा लावतीले होटेल सञ्चालन गर्दै आएकी थिइन्।

खाना पकाउने क्रममा सिलिन्डरबाट ग्यास चुहिएर आगलागी भएको हो। सिलिन्डर नै पड्किएपछि आगो फैलिएको प्रहरीले जनाएको छ। आगलागीबाट होटेलभित्रका लत्ताकपडा, खाद्यान्न, ३ वटा फ्रिज, ८ वटा ग्यास सिलिन्डर, २ वटा इन्भर्टर लगायतका सामान जलेर नष्ट भएका छन्। घर पूर्ण रूपमा क्षति भएको छ।

यसबाट करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ। छिमेकी ज्ञानु रिजालको दुई तले पक्की घरको पछाडिपट्टिका झ्याल र घरभित्रका कपडा पनि जलेको प्रहरीले जनाएको छ। दमकल प्रयोग गरी स्थानीय बासिन्दा र प्रहरी मिलेर आगो निभाइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *