कक्षा ११ र १२ छात्रवृत्तिका लागि १७ हजारभन्दा बढी विद्यार्थीको आवेदन
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ का लागि खुलाएको छात्रवृत्ति कार्यक्रममा देशभरबाट १७ हजार २२९ विद्यार्थीले आवेदन दिएका छन्।
महानगरको शिक्षा विभागका अनुसार, ७७ वटै जिल्लाबाट आवेदन प्राप्त भएको हो। विज्ञान विषयमा सबैभन्दा धेरै १२ हजार ३३७ जना, व्यवस्थापनमा ४ हजार ४८१, शिक्षा विषयमा १०४, मानविकीमा ३४ र कानुन विषयमा २७३ जनाले आवेदन दिएका छन्।
शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार अहिले सबै आवेदनको रुजु प्रक्रिया तीव्र गतिमा अघि बढाइएको छ। असार ३२ गतेसम्म रुजु कार्य सकिएपछि साउन १ गतेदेखि विद्यार्थीहरूले अनलाइनबाट प्रवेशपत्र डाउनलोड गर्न सक्नेछन्।
परीक्षा साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ। कक्षा १० को पाठ्यक्रममा आधारित परीक्षा बहुवैकल्पिक प्रश्नहरूमा आधारित हुनेछ। गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न सोधिनेछ।
उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ। नेगेटिभ मार्किङ हुने छैन। परीक्षा परिणामका आधारमा मेरिट सूची तयार गरी छात्रवृत्ति प्रदान गरिनेछ। यो कार्यक्रमबाट आर्थिक रूपमा विपन्न तर मेधावी विद्यार्थीहरूलाई निजी विद्यालयमा निःशुल्क पढ्न सहयोग पुग्ने महानगरको लक्ष्य छ।
शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका अनुसार, छात्रवृत्तिमार्फत गुणस्तरीय शिक्षामा पहुँच वृद्धि र विद्यार्थीको भविष्य उज्यालो बनाउने प्रयास भइरहेको छ।
