पूर्वशिक्षा अधिकारीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अनुदान रकम दुरुपयोग गरी सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं र गणेश प्रसाद भट्टराईसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
जनता उच्च माध्यमिक विद्यालय, दिप्रुङ चुइचुम्मा–४, खोटाङमा अनुदानमार्फत निर्माण हुन लागेको चारकोठे आरसीसी भवनको काम सम्पन्न नहुँदै अनियमित रूपमा पूरै रकम निकासा गरिएको उजुरी परेपछि आयोगले अनुसन्धान थालेको थियो।
विद्यालयलाई २०७०/०७१ मा १० लाख र २०७१/०७२ मा १४ लाख गरी कुल २४ लाख रुपैयाँ अनुदान दिइएको थियो। सम्झौताअनुसार डीपीसीसम्मको काम भएपछिमात्र अन्तिम किस्ता निकासा गर्नुपर्ने थियो, तर काम अधुरै हुँदा पनि सम्पूर्ण रकम निकासा गरिएको आयोगको भनाइ छ।
त्यस्तै, २०७४/०७५ मा पुस्तकालय व्यवस्थापन तथा किताब खरिदका लागि छुट्याइएको १ लाख ५० हजार रुपैयाँ पनि भवन निर्माणमै खर्च गरिएको खुलेको छ।
स्थलगत निरीक्षण र प्राविधिक रिपोर्टअनुसार भवनको गुणस्तर कमजोर भएको र काम पनि अपूरो रहेको देखिएको आयोगले जनाएको छ।
यस प्रकरणमा संलग्न रहेका शिक्षा अधिकारी, लेखा अधिकृत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, भवन निर्माणकर्ता लगायत ९ जनाविरुद्ध करीब ३० लाख ५० हजार रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए।
अख्तियारका अनुसार झुटा बिल, कम गुणस्तरको सामग्री प्रयोग, सम्झौता विपरीत रकम निकासा जस्ता अनियमितता भएकोले आरोपपत्र विशेष अदालत काठमाडौंमा दर्ता गरिएको हो।
