मामा-माइजूको हत्यापछि २२ वर्षदेखि फरार अभियुक्त पक्राउ

काठमाडौं। सिन्धुलीमा आफ्नै मामा-माइजूको हत्या गरेर फरार भएका एक व्यक्ति २२ वर्षपछि पक्राउ परेका छन्।

२०६० साल पुस ६ गते, सिन्धुलीको दुधौली नगरपालिका-१३ का ४५ वर्षीय रत्नबहादुर कार्की र उनकी श्रीमती दुर्गामाया कार्कीको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।

उक्त घटनामा संलग्न रहेको आरोपमा उदयपुर कटारीका केदारसिंह थापालाई प्रहरीले दाङको लमही नगरपालिका-९ जलकुण्डीबाट असार २३ गते पक्राउ गरेको हो।

प्रहरीका अनुसार थापा मृतकका भान्जा हुन्। उनले हत्यापछि देशका विभिन्न स्थानमा लुकिछिपि बस्दै आएका थिए।

सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, घटनापछि फरार थापालाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो। ‘२२ वर्षपछि अभियुक्त पक्राउ गर्नु प्रहरीका लागि ठूलो सफलता हो,’ सुवेदीले भने।

हत्या पछाडि आर्थिक लेनदेनको विवाद रहेको अनुसन्धानबाट खुलेको छ। थापा विदेशबाट फर्किएपछि मामासँग जग्गा किनबेचको विषयमा विवाद भएको थियो। मामाले जग्गा पास गर्न नमानेपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ।

घटनापछि मृतकका छोरा दुर्गाबहादुर कार्कीले किटानी जाहेरी दिएका थिए। प्रहरीले अब पीडित परिवारलाई न्याय दिलाउने बाटो खुलेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *