‘गोढीको गुरु’

घना बनभित्र–
जहाँ सूर्य आफैं हराउँछ,
र ओझेलै ओझेल छ चेतना पनि,
त्यहीँ बस्छ– एक झ्याङ्क्री
उसको शरीर हाडजस्तो
आँखामा आगो
मानौँ आँखामा राँको बलेको छ
समकालीन चेतनाले
अस्तित्वको जरामा लिन आत्मा
कसैले भन्छ
उसले आत्मा बोलाउँछ!
अरू भन्छन्
भूतसँग आत्मा साटासाट गर्छ!
तर ऊ के भन्छ?
म त केवल सुन्छु
वनको चिच्याहट,
ढुंगाको रोदन,
र ओझेलको भाष्य
घाम छेल्ने ओझेल
उसले कहिल्यै पढेको थिएन वेद,
तर पातले बोलेको भाषा बुझ्थ्यो
जराले थेगेको सम्पूर्ण भार बुझ्थ्यो
कहिल्यै गीता नसुनेको,
तर मृत आत्मालाई शान्ति दिन्थ्यो
गोढी भन्छस्
यो मेरो आत्मा सिकाउने गुरु हो
यहीँ म चिच्याउँछु
र प्रकृतिले उत्तर दिन्छ
यहीँ म लम्पसार पर्छु,
र पृथ्वी मलाई फिर्ता लिन्छ
एक बिरामी बालक
झ्याङ्क्री (झाँक्री) आउँछ
ढ्याङ्ग्रोको तालमा
उसको माउको आँसु काँप्छ
मन्त्र बग्छ पवन (अक्सिजन) सँगै
गोधुली साँझ बालकको छातीमा धुकधुकी उठ्छ
तर गाउँको पण्डित रिसाउँछः
‘शास्त्रबाहिर को शक्ति?
यो अधर्म हो’
झ्याङ्क्री मुस्काउँछ
तिमी ग्रन्थ पढ्छौ, म वन पढ्छु
तिमी ब्रह्म खोज्छौ, म ब्रह्मसँग बोल्छु
एकदिन ऊ हराउँछ।
न खोज्न आउँछ कसैले
किनकि ऊ ‘अवैज्ञानिक’ थियो
तर हरेक वर्षातमा,
जुन दिन गोठ बग्थ्यो,
त्यो गाउँ अझै उही झ्याङ्क्रीलाई सम्झन्छ
सायद ऊ व्यक्ति थिएन
सायद ऊ गोढीमै लुकेको तत्व थियो
एक अनुभूति थियो
जहाँ विज्ञान चुप लाग्छ
तर आत्मा बोल्छ
बस् यति नै…।

–झ्याङ्क्री (झाँक्री) परम्परागत लोक चिकित्सक हुन्।
(झ्याङ्क्री परम्परामा आधारित एउटा लीला लेखन शैलीको कविता)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *