भद्रपुरमा प्रहरीको गोलीले १ जना घाइते, २ पक्राउ

झापा। झापाको भद्रपुरमा मंगलबार साँझ प्रहरी र शंकास्पद समूहबीचको झडपमा प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर झापा कचनकवलका ५५ वर्षीय नसरुल मियाँ घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको हो । सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ।

भद्रपुर-७ मा चिया पसल नजिक हुलाकी सडकमा प्रहरी जाँचका क्रममा मियाँ र भारत किसनगञ्जका ३५ वर्षीय मनिसुर आलमलाई नियन्त्रणमा लिने क्रममा घटना भएको हो।

प्रहरीका अनुसार उनीहरूले जाँचको क्रममा हातपात गरी भाग्न खोजेपछि गोली चलाउनुपरेको हो। त्यस क्रममा ६ राउन्ड गोली प्रहार गरिएको थियो।

दुवै जनाको साथबाट लागुऔषध ब्राउन सुगर बरामद गरिएको छ। भारतीय नागरिक आलमसँग १०३ ग्राम ७० मिलिग्राम र मियाँसँग १०२ ग्राम १० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुबै जनालाई झापा जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *