संसदीय समितिमा शिक्षक महासंघविरुद्ध उजुरी

काठमाडौं । दर्ता बिना सञ्चालन भइरहेको भन्दै नेपाल शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी परेको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उजुरी दिइएको हो ।

शिक्षक नारायणप्रसाद घिमिरे र कार्यालय सहयोगी शंकरबहादुर कुमालले महासंघविरुद्ध दिएको उजुरीमा दर्ता बिना सञ्चालन रहेको भन्दै अनुसन्धान गर्न माग गरिएको छ ।

संस्था दर्ता नगरी सञ्चालन गरेको साथै लेटरप्याड तथा छापको अनाधिकृत, प्रयोग गर्दै सहयोग रकम, सदस्यता शुल्क, नवीकरण दस्तुरका नाममा रकम उठाएको आरोप उनीहरूले लगाएका छन् । निवेदनकर्ताद्वयले महासंघको गतिविधि रोकेर आवश्यक अनुसन्धान गर्न माग समेत गरेका छन् ।

शिक्षा ऐन २०२८ को आठौं संशोधनले साविकको नेपाल शिक्षक युनियनलाई नेपाल शिक्षक महासंघमा शाब्दिक पदावली रुपान्तरण मात्र गरेको दावी उजुरीमा गरिएको छ । शिक्षा ऐनको दफा १६ ‘ङ’ ले सामुदायिक विद्यालयका शिक्षकको हकहितमा काम गर्नका लागि एउटै शिक्षक महासङ्घ रहने व्यवस्था गरेको स्मरण गराउँदै उजुरीमा हालको महासंघले छुट्टै दर्ता नम्बर राखेर सञ्चालन गरिरहेको उल्लेख छ ।

उजुरीमा भनिएको छ, ‘महासंघले नेपाल शिक्षक युनियनको दर्ता नम्बर ०२–२०६० राखी सञ्चालनमा रहेको भनेकोमा नेपाल शिक्षक महासंघको दर्ता नम्बर प्रमाणित गरी पाउँ भनी म निवेदक शंकर बहादुर कुमालले त्यस कार्यालयमा निवेदन दिएकोमा त्यस कार्यालयले नेपाल शिक्षक महासंघ दर्ता नं। ०२–२०६० कार्यालयको कम्प्युटर अभिलेख अनुसार नदेखिएको भनी मिति २०७८–०७–२९ च. नं. ३३५ को पत्रबाट म निवेदकलाई जानकारी दिएको छ यसर्थ दर्ता विनाको संस्था सञ्चालन गरी लेटरप्याड तथा छापको समेत अनाधिकृत, प्रयोग गर्दै सहयोग रकम, सदस्यता शुल्क, नवीकरण दस्तुरका नाममा रकम उठाएको तथा उठाउने गरेको लगायतका गतिविधि भइ रहकोले तत्काल रोकी आवश्यक अनुसन्धान गरी कानुन बमोजिम गरियोस भनि विनम्र अनुरोधका साथ यो निवेदन पेश गरेको छु ।’

यो विषय सर्वोच्च अदालतमा अवहेलना मुद्दा विचाराधीन रहेको स्मरण गराउँदै उजुरीमा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र सहअध्यक्ष नानुमाया पराजुली, महासंघका महासचिव तुलाबहादुर थापाको नाम समेत किटान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *