‘सासुले चक्कु प्रहार गरेपछि त्यही खोसेर ४ जनाको हत्या गरें’

विराटनगर । ‘सासु आमाले म सुतिरहेको बेला चक्कु प्रहार गरेपछि त्यही चक्कुले सबैको हत्या गरें ।’ भोजपुरको रामप्रसाद राई गाउँपालिकामा एकै परिवारको चार जनाको हत्या घटनाका आरोपीले प्रहरीमा दिएको बयान हो यो ।

घटनालगत्तै राति नै फोन गरेर उनले यही जानकारी दिएका थिए । घाइते अवस्थाका उनलाई जिल्ला अस्पताल भोजपुरमा उपचारका लागि लगिएपछि पनि प्रहरीले सोधपुछ गरेको थियो । सोधपुछका क्रममा पनि उनले त्यही कुरा दोहोर्याएको प्रहरीको भनाइ छ ।

रामप्रसाद राई गाउँपालिकाको वडा २ मा पर्ने धोद्लेखानीमा भएको घटनामा भोजपुरकै हेलौछाका २६ वर्षीय राजेन्द्र राईले ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी, आफ्नी श्रीमती मनिषा र सालो सपन गिरीको हत्या गरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दीपक श्रेष्ठका अनुसार राजेन्द्रले नै शनिबार राति करिब १ बजेतिर फोन गरेर घटनाबारे जानकारी दिएका थिए । घाइते अवस्थाका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए । ‘सुतिरहेका बेला सासुले पेटमा चक्कुले प्रहार गरेपछि त्यही चक्कु खोसेर चारैजनामाथि प्रहार गरेको बयानमा उनले बताएका छन्’ इन्स्पेक्टर श्रेष्ठले भने ।

राति फोन गरेर उनले आफूमाथि चक्कु प्रहार भएको र मान्छे मारेको जानकारी प्रहरीलाई दिएका थिए । त्यसपछि अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोककुमार खवास र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली घटनास्थल गएको थियो ।

त्यहाँ पुग्दा राजेन्द्रका ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु मन्जु गिरी र उनकी १६ वर्षी श्रीमती र १० वर्षका सालोको शव फेला परेको थियो । सबैलाई धारिलो हतियार प्रहार गरिएको पाइएको प्रहरीको भनाइ छ ।

एकै परिवारका ४ जनाको हत्या


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *